काँकडभिट्टा — भारतको असमका साहित्यकार लीलबहादुर क्षेत्रीसहित तीन नेपालीभाषीलाई भारत सरकारले प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सोमबार सम्मान गरेको छ ।
प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भने कोरोना कहरका वितरण गरिएको थिएन । अघिल्लो र यस वर्षका पुरस्कृतहरुलाई सोमबार दिल्लीमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामनाथ कोबिन्दले पद्म विभुषण, पद्य भुषण र पद्मश्री पुरस्कार प्रदान गरे ।
अघिल्लो वर्ष क्षेत्री सहित १ सय १८ जनाको नाम पद्मश्रीका लागि घोषणा भएको थियो । यो वर्ष १ सय २ जनाले यो पुरस्कार पाएका छन् । क्षेत्रीसहित सिक्किमका नेपालीभाषी खेलाडी तरुणदीप राई र अर्का नेपालीभाषी सुटिङ खेलाडी जितु राईले पद्मश्री पुरस्कार पाएका हुन् ।
भारतको असमका नेपालीभाषी साहित्यकार क्षेत्री शिक्षा र साहित्यमा विशेष योगदान गरेबापत पुरस्कार प्रदान गरिएको हो । उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति जगदम्बा पुरस्कार पाइसकेका छन् ।
तेर्हथुमको छथरसुधापबाट पितापुर्खा भारतको आसाम पुगेको र सुरुमा गाइगोठ राखेर जीविकोपार्जन थालेको इतिहास क्षेत्रीले बताउँदै आएका छन् । ८९ बर्षिय लेखक क्षेत्रीले ‘ब्रम्हपूत्र छेउछाउ’ कृतिका लागि भारतकै साहित्य अकादमी पुरस्कार पाइसकेका छन् ।