बालेनको जित कसैले रोक्न सक्छ ? र ‘कोर एरिया’को भोट : सम्भावित तीन परिस्थिति (काठमान्डौको सम्भावित नतिजाको आकंलन।

काठमान्डौ

बुधबार अपराह्न साढे २ बजे निर्वाचन आयोगले दिएको आधिकारिक तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकामा करिब २१ प्रतिशत मतगणना सकिसक्दा स्वतन्त्र उम्मेदवार बालेन साहले मत अन्तर झन् फराकिलो पार्दै गएका छन्। सुरुवातदेखि नै उनले लिएको अग्रता कायम रहेको र अहिले आइरहेका भोटहरुको ट्रेन्ड हेर्दा उनी नै मेयर निर्वाचित हुने सम्भावना हुँदाहुँदै पनि अहिले काठमाडौँका कोर एरियाको मतले स्थिति फरक पार्न सक्ने टिप्पणीहरु पनि भएका छन्। तर अहिले उनले पाएको मत र उनका प्रतिस्पर्धीहरुले पाएको मत हेर्दा कोर एरियाको मत बाकसमा बन्द छँदै उनले फराकिलो अन्तर बनाइसक्ने सम्भावना देखिन्छ। के हो यो कोर एरिया भनेको? कति भोट छन् यहाँ र परिस्थिति कस्तो देखिन्छ? आउनुस् तथ्याङ्कबाटै केलाउँ।

बुधबार पाँचौ दिन मतगणना भइरहँदासम्म वडा नम्बर १,२,३ र ५ गरी चार वटा वडाको नतिजा आइसकेको छ। सबै वडामा एमाले वडाध्यक्ष विजयी भएका छन् भने वडा नम्बर १ र ५ का केही सदस्य कांग्रेसका निर्वाचित भएका छन्। तर सबै ठाउँमा मेयरमा बालेनले धेरै मत ल्याएका छन्।

मतगणना सकिसकेको ठाउँमा बालेनको अनौठो क्रेज देखिएको छ, जसलाई ठूला दलहरुले मतपेटिका नखोलुन्जेल वास्तै गरेका थिएनन्। उनले वडा नम्बर ३ मा ३८ प्रतिशतसम्म मत ल्याएका छन्। मतगणना सकिएका स्थानहरुमा उनको ३३ प्रतिशत घटी मत आएको देखिन्न। यस पटक वडाअध्यक्ष र सदस्यमा पार्टीगत मत दिएका मतदाताहरुले मेयरमा भने छानेरै लौरोलाई चुनेको देखिएको छ।

तलको तालिकाबाट पनि उनले कहाँ कति भोट ल्याए भन्ने हेर्न सकिन्छ।

यो तालिकामा पहेँलो रङको वडाहरुमा मतगणना सम्पन्न भइसकेको छ। रातो लगाइएका वडाहरु अहिले चर्चामा रहेको ‘कोर एरिया’ हुन्। काठमाडौँ अहिलेको स्वरुपमा नहुँदाका पुराना बस्ती, जहाँ रैथानेहरुको पुरानो बसोबास छ। यहाँको भोटलाई अहिलेसम्म निर्णायक मानिन्थ्यो। तर यस पटक भने यहाँको भोट नगन्दै बालेनको विजय हुने देखिएको छ जसमा बाहिर भएको उनको क्रेजले साथ दिएको छ। अर्थात् प्रतिस्पर्धीहरुले बाहिर उनको छेउछाउमा मत ल्याउन सकेको भए अझै पनि यहाँको भोट निर्णायक हुनसक्थ्यो।

मतगणना भइरहेको छ। केही परिस्थितिको हामी अनुमान गर्न सक्छौँ।

परिस्थिति नम्बर १ : बाहिर ३५ प्रतिशत, कोर एरियामा शून्य आउँदा के हुन सक्ला?

अहिले बालेनले ल्याइरहेको मतको ट्रेन्ड हेर्दा उनले बाहिरी बस्तीमा ३० प्रतिशतभन्दा बढी मत ल्याउने देखिन्छ। त्यसैले औसतमा ३५ प्रतिशत मत पाउने अनुमान गरौँ।  कोर एरिया बाहेकको क्षेत्रमा उनले ३५ प्रतिशत मत ल्याउँदा कूल मत कति पुग्छ त ?

५४ हजार चानचुन।
यो भनेको कोर एरियामा उनले पाउने मत सून्य हुने अनुमान हो, जुन अहिले आइरहेको लहर हेर्दा सत्य हुने देखिन्न।

अनि उनका प्रतिस्पर्धीहरुले अहिलेको जस्तै ट्रेन्डमा मत ल्याए भने कति मत हुन्छ त?
केशव स्थापितले अहिलेकै ट्रेन्डमा अधिकतम २५ प्रतिशत मत ल्याउने हिसाब गर्ने हो भने कोर एरिया बाहेकको मत उनले पुर्‍याउनेछन् लगभग ३६ हजार।

त्यसैगरी सिर्जना सिंहले अहिले कै ट्रेन्डमा १५ प्रतिशत मात्र मत ल्याउने हो भने उनको मत पुग्नेछ लगभग साढे २१ हजार। सिर्जना सिंह तेस्रो स्थानमा भएकोले यहाँको सम्भावित परिस्थितिको अनुमानमा बालेनको निकट दोस्रा प्रतिस्पर्धीलाई मात्र लिइएको छ।
कोर एरियामा केशव स्थापितले ३५ प्रतिशत मत ल्याउने हो भने बल्ल उनी ५५ हजारको हाराहारीमा पुग्नेछन्। अर्थात् बल्ल उनी बालेनको हाराहारीमा पुग्नेछन्।

कोर एरियामा कांग्रेस, एमालेसँगै सम्पदा संरक्षण र सडक विस्तार पीडितहरुको संघर्षका अभियन्ता सुमन सायमी पनि लोकप्रिय छन्। त्यसैले बाहिरी एरियामा बालेनसित जस्तै कोर एरियामा सुमनसित प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा ३५ प्रतिशत मत ल्याउनु ठूलै चुनौति हो।

कोर एरियामा बालेनको सून्य मत अनुमान गर्दा मात्रै केशव स्थापितले एकदमै कम अन्तरमा बालेनलाई चुनौति दिन सक्ने देखिन्छ। तर यत्रो बालेनको लहर चलिरहेको बेलामा बालेनको सून्य मत हुने कल्पना आफैमा असम्भव हो।
परिस्थिति नम्बर २ : कोर एरियामा बालेनले ५ प्रतिशत मत ल्याए ?

बालेनले कोर एरिया अर्थात् बालेन आफैले आफू कमजोर रहेको विश्लेषण गरेका १५ देखि २३ वडामा ५ प्रतिशत मात्र मत ल्याए भने उनको मत कूल मत पुग्नेछ ५८ हजार।
यो कोर एरियामा स्थापितले ३५ प्रतिशत मत ल्याउँदा आउने ५५ हजार भन्दा ३ हजारले बढी हो।

परिस्थिति नम्बर ३ : कोर एरियामा बालेनले १ प्रतिशतमात्रै मत ल्याए ?
ल मानौँ, बालेनको कोर एरियामा स्थिति एकदमै कमजोर छ, उनले ५ प्रतिशत मत पनि ल्याउन सकेनन्।  एकदमै न्यून अर्थात्  ३ प्रतिशत मात्रै मत ल्याउन सके। त्यस्तो अवस्थामा कस्तो होला स्थिति ?

३ प्रतिशत मत ल्याउँदा पनि उनले ५७ हजार चानचुन मत ल्याउने छन्।
त्योभन्दा पनि कम मानौँ, १ प्रतिशतमात्रै मत ल्याए?

त्यस्तो अवस्थामा पनि उनले ५५ हजार हाराहारी मत ल्याउने छन्, जुन कोर एरियामा स्थापितले ३५ प्रतिशत मत ल्याउँदाको हाराहारी हुनेछ। तर उनले १ प्रतिशत मत ल्याउने कुरा अहिले चलेको बालेन हुरीका कारण त्यति सान्दर्भिक होला जस्तो लाग्दैन।

न्यून सम्भावनाका कुरा
कोर एरियामा ५० प्रतिशत मत केशव स्थापितले पाए र बालेनले एक प्रतिशत मात्रै पाए भने मात्रै पासा पल्टिने देखिन्छ। यस्तो अवस्थामा केशवको मत साढे ६३ हजारको हाराहारीमा पुग्न सक्छ भने बालेनको मत ५७ हजारको हाराहारीमा पुग्न सक्छ। तर स्थापितले अहिलेको अवस्थामा कोर एरियाबाट आधा मत तान्ने सम्भावना एकदमै न्यून छ। किनभने कोर एरियाका कम्तिमा चार वटा वडा यसअघिका निर्वाचनमा कांग्रेस वडाध्यक्ष विजयी भएका वडा हुन्। र, यस पटक स्थापित त्यति लोकप्रिय पनि छैनन्। त्यहाँमाथि सुमन सायमीको चुनौति थपिएको छ।
कोर एरिया बाहिर अझै मतगणना जारी छ। त्यहाँ बालेनको अझै फराकिलो अन्तरको जित कायम रह्यो भने बालेनलाई कोर एरियामा अझै सहज हुन्छ। स्थापित वा सिंहले नाटकीय रुपमा अबको मतगणनामा मत बढाए भने पनि परिस्थिति बदलिन सक्छ। तर अहिलेको मतदाताले दिएको मतको ट्रेन्ड हेर्दा त्यस्तो हुने सम्भावना छैन। कि त मतपेटिका नै अहिले आएर बदल्नु पर्‍यो, नत्र त उही हो 🙂

गणना भने तत्काल सकिनेवाला छैन। २०७४ सालमै १४ दिन लागेको थियो। अहिले त बल्ल ५ दिन भयो।

(साभार-माईसंसार)

ताजा समाचार