काठमान्डौ
चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका लागि शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै मत पेटी संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो।
सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।
यसैगरी काठमान्डौ, पोखरा, ललितपुर र विराटनगर महानगरपालिकाको मतगणना आजै सुरु गर्ने तयारी गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिएको जानकारी अनुसार मतगणनामा खटिने कर्मचारीको विवरण तयार भइसकेको छ ।
मतपेटिका संकलन सकेर सकेसम्म आजै विराटनगरको मतगणना सुरु गरिने उनले बताए । ‘सकेसम्म आजैदेखि सुरु गरौं भनेर हामी लागिरहेका छौं,’ प्रजिअ दाहालले भने, ‘तर, राती अबेर ११÷१२ बज्न सक्छ ।’
यता, विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने आज मतगणना गर्ने तयारी गरेको भएपनि सुरु कतिबेला हुन्छ भन्न सकिने अवस्था नरहेको बताए ।
यसैबीच झापाको दमक नगरपालिकाको पनि आजै मतगणना कार्य सुरु गर्ने तयारी भएको छ । दमकका निर्वाचन अधिकृत केशव प्रसाद पन्तका अनुसार मतपेटिका संकलनको काम भइरहेको छ । मतपेटिका संकलन भएपछि सर्वदलीय छलफल गरेर मतगणना सुरु गरिने उनले बताए ।
यता, सुनसरीको धरान उपमहानगरपालिकामा भने मतगणना भोली बिहान ८ बजेदेखि हुने भएको छ । ‘हामीले सर्वदलीय बैठक गरेर भोली बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति गरेका छौं,’ नेपाली कांग्रेस धरानका नगर सभापति श्याम पोखरेलले भने । यता, सुनसरीको इटहरीमा अहिलेसम्म पनि कतिपय मतदानस्थलमा मतदान भइरहेको कारण मतगणनाको टुंगो नलागेको बताइएको छ ।