काठमान्डौ
मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार कहाँ–कहाँ मतदान प्रभावित भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको छ ।
मत गणनापछिमात्रै परिणाम सार्वजनिक हुने भए पनि मतदानबाट मुलुकभर ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्न मतदाताले आफ्नो जनप्रतिनिधि चयन गरिसकेका छन् । जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । तीबाहेक १ लाख ९ हजार ७९० जना पराजित हुन पुग्नेछन् । मतदाताले मतदान गरिसकेकाले निर्वाचित प्रतिनिधिको भविष्य अबको केही समय बाकसमा कैद हुन पुगेको छ ।
६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आयोगको आकलन

निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको बताएका हुन्।
उनले ३ बजेसम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजेसम्म जारी रहने बताए। प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताए।
प्रमुख आयुक्त थपलियाले अहिले सप्तरी, बझाङ, बाजुरा, बारा र रौतहटका केही मतदानस्थलमा उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामाथि आक्रमण गर्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गरे।
उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य हुनुपर्ने मतदानलाई प्रचारप्रसारका लागि सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिसकेको र यदि सत्य प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने बताए।
प्रमुख आयुक्त थपलियाले मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाएको बताए। उनले आयोगले जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य राखेको पनि बताए।