देउवा-मोदी भेटवार्ता लुम्बिनीमै, यस्तो छ भ्रमणको तयारी 

रुपन्देही । २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउँदैछन् । उनको स्वागतका लागि विशेष तयारी भइरहँदा बुधबार भारतीय वायुसेनाको एउटा विमान लुम्बिनी अवतरण भयो ।

मोदीको भ्रमण सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) वायुसेनाको विमानबाट बुधबार लुम्बिनी ओर्लेका हुन् । सो टोलीले मोदी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने गाडी पनि ल्याएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार कूटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले सुरक्षाकर्मी र गाडी लिएर आएको हो ।

दिल्लीबाट आएको उक्त विमान बुधबार बिहान सवा १० बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय सुरक्षाकर्मी आएका छन् । वायुसेनाको विमानले सुरक्षाकर्मी र गाडी छाडेर आजै दिल्ली फिर्ता जानेछ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट विदेशी विमान अवतरण भएको हो ।

ताजा समाचार