विराटनगर । नेपाली कांग्रेसका शीर्ष नेताहरुले विराटनगर महानगरपालिकाको टिकट वितरणमा देखिएको कलह अन्त्य भएको सन्देश दिने प्रयास गरेका छन् ।
स्थानीय निर्वाचनका लागि बुधबारदेखि देश दौडाहा सुरु गरेका कांग्रेसका शीर्ष नेताहरुसँगै मेयराक टिकटका आकांक्षीहरु पनि विराटनगरमा एउटै मञ्चमा देखिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालासँगै मेयरका आकांक्षीहरुले पनि पार्टीका उम्मेदवार नागेश कोइरालालाई भोट मागेका छन् ।
केन्द्रीय सदस्यहरु अमृत अर्याल र डिला संग्रौला, निवर्तमान मेयर भीम पराजुली पनि टिकटका आकांक्षी थिए । तर डा. शेखरको जोडबलमा नागेश उम्मेदवार बने । त्यसपछि असन्तुष्टि जनाउँदै पराजुलीले मेयर पदबाट राजीनामा दिएका थिए । मेयरका आकांक्षीहरु चुनावी घरदैलोमा देखिएका थिएनन् ।
तर बुधबार शीर्ष नेताहरुसँगै मेयरका आकांक्षीहरुले एउटै मञ्च उभिएर मेयरका उम्मेदवार नागेशसँगै गठबन्धनका उपमेयरका उम्मेदवारलाई पनि भोट मागेका छन् । ‘आजको सभाले पार्टी उम्मेदवारप्रति हुने सबैखाले टीकाटिप्पणीको अन्त्य गरेको छ,’ कांग्रेसको विराटनगर नगर सभापति दीपक चापागाईंले अनलाइनखबरसँग भने, ‘पार्टी एक ढिक्का भएको संकेत विराटनगरले दिएको छ ।’