काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
एआईजीपी पोखरेलले रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने मागदाबी गरेका छन् । एआईजीपी पोखरेलका तर्फबाट रिट लिएर सर्वोच्च पुगेकी अधिवक्ता सुनिता राउतले रिटको पेशी बुधबारका लागि तोकिएको बताइन् ।
रिटमा पोखरेलले जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको भन्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरेका छन् ।
पोखरेलले प्रहरी नियमावली २०७१ को नियम ४१ र ३० अनुसार आफूलाई महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गरेका छन् । पोखरेलले एआईजीसम्म आइपुग्दा आफूले कुनै विभागीय कारबाही नभोगेको तर महानिरीक्षकमा बढुवा भएका सिंहले पटक–पटक कारबाही भोगेको तथा एआईजीमा बढुवाविरुद्धको मुद्दा अदालतमै विचाराधीन रहेको अवस्थामा बढुवा भएकोमा पनि प्रश्न उठाएका छन् ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठतामा अगाडि रहेका एआईजीद्वय पोखरेल र सहकुलबहादुर थापालाई पन्छाएर डेढ महिना अघि डीआईजीबाट एआईजी बनेका सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । २०७७ मंसिरमा पोखरेल एआईजी भएका थिए । त्यसको ७ महिना पछि थापा २०७८ असार र महानिरीक्षकमा बढुवा भएका सिंह गत चैत ७ मा एआईजी भएका थिए ।
महानिरीक्षकको बढुवामा छुटेका एआईजी थापाले आफू कानुनी परामर्शका क्रममा रहेको बताए । ‘बढुवाविरुद्ध रिट लिएर सर्वोच्च जाने बारे म अहिले कानुनी परामर्शमै छु,’ थापाले संक्षिप्त प्रतिक्रिया दिए ।
आफूभन्दा कनिष्ठ एआईजीलाई आईजीपीमा बढुवा गरेपछि अदालत जानकै लागि पोखरेल र थापाले आइतबार नै बिदा स्वीकृत गराइसकेका छन् । प्रहरी सेवाबाट महानिरीक्षक शैलेश थापा क्षत्रीले अवकास पाउनु अघि नै दुवै एआईजीले घर बिदा स्वीकृत गराएका थिए । पोखरेलले १ महिना र थापाले १० दिनको बिदा स्वीकृत गराएका छन् ।