आईजीपी नियुक्तिले विधिको शासनको खिल्ली उड्यो : शेखर कोइराला,एआईजीद्वय पोखरेल र थापा न्यायका लागि अदालत जाने

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको भन्दै सकारको आलोचना गरेका छन् ।

नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले त्यसको विरोध गरेका हुन् ।

‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’

यसैविच सरकारले प्रहरी महानिरीक्षकमा कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेपछि जेष्ठतामा अघि रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापाले न्यायका लागि सर्वोच्च अदालत जाने बताएका छन् ।

त्यसका लागि आफूहरु कानुनी परामर्शमा रहेको उनीहरुले बताए । एआईजी पोखरेलले नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्दा इतिहासमै यस्तो अन्याय कहिल्यै नभएको बताए ।

‘नेपाल प्रहरीको आईजीपी नियुक्तिमा यति ठूलो अन्याय इतिहासमै कहिले पनि भएको थिएन, एकै मितिका प्रतिस्पर्धीमध्येबाट नियुक्ति गर्दा पनि पहिलो वरियतालाई गरिन्थ्यो, अहिले त १८ महिना र १० महिना सिनियरलाई पन्छाएर एक महिना अघि बढुवा भएकालाई नेतृत्वमा लगियो,’ एआईजी पोखरेलले कान्तिपुरसित भने, ‘आईजीपीमा बढुवा भएका व्यक्ति एआईजी बढुवा विरुद्धको मुद्दा खेपिरहेका व्यक्तिलाई आईजीपी नियुक्ति गरेर सरकारले प्रहरी संगठनमाथि प्रहार गरेको छ, यस विरुद्ध न्यायका लागि सम्मानित अदालत जान्छौं ।’

उनले प्रहरी संगठनको मूल्य, मान्यता र समग्र रुपमा विधि/पद्धति स्थापित गर्न पनि अदालत जानुको विकल्प नभएको उनले बताए ।

ताजा समाचार