जापानका पूर्व राजदूत केदरभक्त माथेमालाई जापानको ‘द राइजिङ सन’ उपाधि 

टोकियो

जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने विशिष्ट राष्ट्रिय सम्मान ‘द अर्डर अफ द राइजिङ सन’को उपाधि कूटनीतिज्ञ केदारभक्त माथेमालाई प्रदान गरेको छ ।

सन् १९९६ देखि छ वर्षसम्म जापानका लागि नेपाली राजदूत रहेका माथेमाले ‘नेपाल–जापान द्विपक्षीय सम्बन्धको आयाम बढाउनमा उल्लेख्य योगदान गरेको’ भन्दै शुक्रबार काठमाडौंस्थित जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा द्विपक्षीय राजनीतिक भ्रमणसहितका गतिविधि विस्तार गर्नमा माथेमाको कार्यकाल विशेष रहेको जनाइएको छ । माथेमाकै पालामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापानको र जापानका प्रधानमन्त्री योशिरो मोरीले नेपालको भ्रमण गरेका थिए । माथेमाकै कार्यकालमा जापानको फुकुओका सहरमा नेपालको अवैतनिक वाणिज्यदूतावास स्थापना भएको थियो । 

‘जापानले यो विशिष्ट राजकीय सम्मान मलाई प्रदान गरेकोमा म जापान सरकार र जापानी जनताप्रति कृतज्ञ छु,’ माथेमाले कान्तिपुरसँग भने—‘नेपाल–जापानबीच रहिआएको विशिष्ट र सुमधुर सम्बन्धको आयामलाई थप बिस्तार गर्न द्विपक्षीय राजनीतिक, आर्थिक, शैक्षिक तथा अन्य तहका आदानप्रदानमा निरन्तरता रहन सक्नुपर्छ ।’ 

जापानले यस्तो विशिष्ट सम्मान हरेक वर्ष अप्रिल २९ र नभेम्भर ३ का दिन प्रदान गर्दै आएको छ । सम्मान प्रदान गरिने टोकियोको औपचारिक समारोहमा उपस्थित हुन नसकेपनि माथेमालाई काठमाडौंस्थित जापानी दूतावासले सम्मानित गरेको हो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका माथेमा नागरिक समाजका अभियन्ता भनेर चिनिन्छन् ।

ताजा समाचार