काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरूङले सोमबार मनोनयन दर्ता गरेका हुन् ।
मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार थापाले २५ वर्षपछि पोखराको मेयरमा प्रतिस्पर्धा गर्न पाउनुलाई शौभाग्य ठानेको बताए ।
उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङले आफूलाई उठ्ने रहर नहुँदा पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागेको बताइन् ।
यसैगरी नेपाली कांग्रेसले तीन महानगरपालिकाको उपमेयरको उम्मेदवार टुंग्याएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाइएको छ । वीरगञ्जको उपमेयरमा इम्तियाज आलम र पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई टिकट दिइएको छ ।
सत्तारुढ दलहरुबीच भागवन्डा गर्दा भरतपुर महानगरको मेयर माओवादी केन्द्र, वीरगञ्जको मेयर जनता समाजवादी पार्टी र पोखराको मेयर एकीकृत समाजवादीले पाएको थियो । तीनवटै महानगरमा कांग्रेसले भने उपमेयर लिएको थियो ।