काठमाडौँ
सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो ।
सहमतिपछि गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । सिट बाँडफाँट अनुसार महानगरतर्फको भागबन्डा मंगलबार नै भइसकेको थियो ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो ।
जस अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ ।
नेकपा एकीकृत समाजवादीले पाेखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाउनेछ ।
जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउनेछ ।
उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ ।
नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद लिनेछ भने धरान र धनगढीको उपमेयर लिनेछ ।
नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर लिनेछ ।
जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।