गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ वटा महानगरपालिकाको भागबण्डा मिलाएको छ।
सत्तारुढ गठबन्धनको सोमबार बालुवाटारमा बसेको दोस्रो बैठकबाट नेपाली कांग्रेसले तीनवटा महानगरपालिका लिने सहमति जुटेको हो।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने सहमति बनेको छ।
उनका अनुसार बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ।
पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ। पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ।
तर त्यहाँ कांग्रेसले पनि दाबी गरेपछि कुरा नमिलेको हो। ‘आजको बैठकले महानगरपालिकाको बाँडफाँटबारे छलफल गरेको छ’, पुरीले नेपालखबरसँग भने, ‘पोखराको हकमा एकीकृत समाजवादी र कांग्रेस दुवैले दाबी गर्दा सहमति भएन। यसबारेको निर्णय मंगलबारको गठबन्धन बैठकले गर्नेछ।’
पुरीका अनुसार त्यही बैठकबाट ११ वटा उपमहानगरपालिकाको भागबण्डा पनि मिलाउने भएको छ।