काठमाडौँ
चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका छन् ।
१९ सदस्यीय टोलीसहित वाङ केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
भारतको नयाँदिल्लीबाट उनी काठमाडौं आइपुगेका हुन् । चिनियाँ विदेशमन्त्री वाङलाई स्वागतका लागि परराष्ट्र सचिव भरतराज पौड्यालसहित सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए।
सचिव पौड्यालसँगै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतको टोली वाङको स्वागतका लागि विमानस्थल पुगेको हो । वाङ अफगानिस्तान, पाकिस्तान र भारतको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन् ।
नेपाल भ्रमणको क्रममा वाङले परराष्ट्रमन्त्री खड्कासहित प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यक्रम छ ।भ्रमणको तेस्रो दिन वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने छन् ।