काठमाडौँ
सत्ता गठबन्धनबीच स्थानीय तहका साथै प्रदेश र संघको चुनावमा पनि तालमेल गर्ने कसरत भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आपसमा टीकाटिप्पणी गर्ने क्रम बढेको छ । कांग्रेसमा खास गरी शेखर कोइराला समूहका नेताहरूले एक्लै चुनावमा जानुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् भने माओवादी नेताहरूले पनि कांग्रेसमा अहंकार बढेको प्रतिक्रिया दिन थालेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिमा स्थानीय चुनावमा तालमेल गर्ने कुरा उति प्राथमिकतामा परेको देखिँदैन । उनले बुधबार माओवादीको उपत्यका, सम्पर्क समन्वय विशेष प्रदेश तथा प्रवास समन्वय समितिको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षणमा कार्यकर्तालाई एक्लै चुनाव लड्नका लागि तयार रहन निर्देशन दिए । ‘गठबन्धन कायमै रहन सक्छ तर हामी आफ्नो खुट्टामा उभिनुपर्यो । हामी २०६४ को जस्तो माहोलमा फर्किनुपर्यो,’ दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘गठबन्धन गरेर जितिहालिन्छ भन्ने भरमा नपरौं ।’
माओवादी नेता वर्षमान पुनले कांग्रेसका केही नेतामा गठबन्धन भएका पार्टीका नेताहरूलाई हेप्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । ‘हामीले सडकको कांग्रेसलाई सत्तामा पुर्याएका छौं । सत्तामा पुगेको कांग्रेसका केही नेताले अहंकार देखाइरहेका छन् । उनीहरूमा सत्ताको उन्माद देखिन्छ,’ उनले भने, ‘स्थानीय निर्वाचनमा उनीहरू नराम्ररी पछारिनेवाला छन् ।’ नेता पुनले स्थानीय निर्वाचनमा एमालेसँग तालमेलको ढोका बन्द भइनसकेको उल्लेख गरे । ‘हामी घुँडा टेकेर तालमेल गर्नुपर्यो भन्न कसैलाई जाँदैनौं । हाम्रो आफ्नै शक्ति छ,’ उनले भने, ‘दुवैतिर (गठबन्धन र एमाले) सँग तालमेल हुने ठाउँमा हामी खुला नै छौं ।’ केही समयअघि अध्यक्ष दाहालले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादको ढोका बन्द नगरेको बताएका थिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने राष्ट्रिय स्तरमा माओवादी केन्द्रसँग तालमेल हुने सम्भावना नरहेको बताए । ‘माओवादीमा स्थानीय चुनावलाई लिएर मनोवैज्ञानिक डर छ । त्यसैले माओवादी नेताहरूले एमालेसँग तालमेलको कुरा गरिरहेका हुन सक्छन्,’ उनले भने, ‘राष्ट्रिय स्तरमा चुनावी तालमेल नभए पनि स्थानीय तहमा कहींकतै विशिष्ट स्थिति हेरी समीकरण बन्न सक्छ ।’ ओलीका अभिव्यक्तिले पनि माओवादीसँग तालमेल भइहाल्ने संकेत गर्दैन । एमाले नेता घनश्याम भुसालले कान्तिपुरमा लेखेको ‘कम्युनिस्ट पार्टीको भविष्य ः एकता वा सत्यानाश’ लेखप्रति ओलीले मंगलबार व्यंग्य गर्दै ‘आफ्नो नेतृत्वको सरकार ढालेका पार्टीसँग एकताको कुरा गरेर जिस्केको’ टिप्पणी गरेका थिए ।
कतिपय राजनीतिक विश्लेषक भने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहाल ‘राजनीतिक स्वार्थ’ का लागि कुनै पनि बेला मिलनको हात बढाउने नेता भएकाले सत्ता गठबन्धनबीच अनुकूल चुनावी तालमेल नसके माओवादीले एमालेसँग ‘सम्झौता’ गर्न सक्ने बताउँछन् ।