सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणको तयारी तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयले अर्थ, गृह, पर्यटन, कृषि र वाणिज्य मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समन्वय गरी भ्रमणको एजेन्डामा गृहकार्य गरिरहेको सरकारी अधिकारीहरुले बताए
नेपालले भ्रमणको तयारी अघि बढाए पनि शुक्रबार साँझसम्म चिनियाँ पक्षले भ्रमणको यकिन मिति नेपाली पक्षलाई जानकारी गराइसकेको छैन।
भ्रमणबारे जानकार परराष्ट्रका एक अधिकारीका अनुसार चैत १२ वा १३ गतेका दिन विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्नेछ।
‘चिनियाँ पक्षले परराष्ट्रमन्त्री नारायण खड्का टर्की भ्रमणबाट फर्किनासाथ भ्रमण मितिबारे जानकारी गराउँदैछ। अहिलेसम्म चिनियाँ पक्षको अनौपचारिक कुरा बुझ्दा चैत १२ वा १३ मा चिनियाँ टोली काठमाडौँ उत्रनेछ,’ ती अधिकारीले बताए।