युक्रेनी सेनाले अहिलेसम्म कसरी थेगिरहेको छ रूसी आक्रमण? 

एजेन्सीहरु

रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको शुक्रबार नौ दिन पुगेको छ। यी नौ दिनमा रूसी सेनाले एउटा शहर कब्जा गरेका छन् भने राजधानी किएभ घेरेका छन्।

बुधबार रूसी रक्षा मन्त्रालयले आफ्ना ४९८ जना सैनिक मारिएको स्वीकारेको थियो। युक्रेनले भने रूसका ७ हजार बढी सैनिक मारिएको दाबी गरेको छ।

युद्धका बेला दुबै पक्षले आफूअनुकूल हुने गरी गर्ने दाबीको स्वतन्त्र पुष्टी गर्न कठिन हुन्छ। एउटा कुराचाहिँ के सत्य हो भने युक्रेनी सेनाले नसोचेको तरिकाले रूसी आक्रमणको प्रतिरोध गरिरहेको

छ।

विश्वकै शक्तिशालीमध्येको रूसी सेनाको आक्रमण तुलनात्मक रूपमा कमजोर युक्रेनी सेनाले जसरी थेगिरहेको छ त्यसले यो क्षेत्रका विश्लेषकलाई पनि अचम्ममा पारेको छ।

केही दिनअघि दक्षिण युक्रेनमा रूसी सैनिक सहरमा पस्न नसकून् भनेर एक जना युक्रेनी सैनिकले आफैं पुलमा बसेर बिस्फोट गरेका थिए। युक्रेनी सेनाका पाइलट र एयर डिफेन्स सिस्टमले आकाशमा रूसी सेनाका लडाकु जहाजलाई टक्कर दिइरहेका छन्।

रूसी सैनिकलाई रोक्न युक्रेनी सेनाले गोलीचलाउने बाहेक अरू धेरै उपाय लगाएको छ। प्रतिभाशाली साइबरयुद्धमा कुशल युक्रेनीहरूले देशभित्र र बाहिरी संसारबाट समर्थन जुटाउने सामग्री प्रसारणमा मस्कोलाई पछि पारेका छन्।

राजधानी किएभलाई लक्षित गरेर आएको ६५ किलोमिटर लामो रूसी सैनिक गाडीको लावालस्करलाई युक्रेनी सेनाले किएभबाट २५ किलोमिटर पर रोकेका छन्। लावालस्करमा अघि रहेका गाडीमा उनीहरूले पश्चिमाले दिएका ज्याभेलिन एन्टिट्यांक मिसाइल प्रयोग गरेर आक्रमण गरेका छन्।

ताजा समाचार