ओमानलाई ९ विकेटले हराएर ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो 

काठमाडौं

नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।

सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।

ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै आरिफ शेखले अविजित २१ रन जोडे ।

पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ७.३ ओभरमा ५० रनको साझेदारी गरेका थिए । आसिफ शेख १३ रन बनाएर आउट भए । यस प्रतियोगितामा विकेटकिपिङको समेत जिम्मेवारी पाएका आरिफको ब्याटबाट सोचे अनुसारको रन भने निस्कन सकेको छैन ।त्यसपछि भुर्तेल र आरिफ शेखले मिलेर नेपाललाई जितसम्म पुर्‍याए । यी दुईले दोस्रो विकेटका लागि अविजित ४० रनको साझेदारी गरे ।

ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् । यस्तै पूर्वकप्तान पारस खड्काले टी-२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

ताजा समाचार