स्थानीय तह निर्वाचन सार्न माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार 

काठमाडौँ

स्थानीय तहको २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचन सार्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महोत्तरीको भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आफ्नो कार्यकाल ५ वर्षको भएको तर त्यसअघि नै निर्वाचन हुन लागेको भन्दै रोक्न माग गरी रिट दायर गरेका थिए । 

र्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले मंगलबार साहको रिटमा मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । साहले २०७४ असोज २ गते निर्वाचित भएको र संविधानले ५ वर्षको कार्यकाल हुने भन्ने व्यवस्था गरेको दाबी गर्दै वैशाखमा तोकिएको निर्वाचन सार्नुपर्ने माग गरेका थिए ।

साहको रिट निवेदन सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । निवेदन दरपीठ भएपछि उनी रिट निवेदन लिएर इजलासमा पुगेका थिए । न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले दर्ता उक्त रिट निवेदन गर्न आदेश दिएको थियो । 

दर्तापछि मंगलबार पहिलोपटक सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख गरिएको छ ।

यससँगै आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनलाई सर्वोच्च अदालतको हस्तक्षेपले सर्ला कि भन्ने आशंका टरेको छ । सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगलाई कारणदेखाउ आदेश जारी गरेको छ ।

ताजा समाचार