पोखरा
आइतबार पोखरामा परेको असिना-पानीले जनजीवन अस्तव्यस्त बनेको छ । असिना-पानीले पोखराको सडक नै अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेक लगायतका भाग असिनाले टपक्कै छोपेको थियो ।
गुडिरहेका बस रोकिएका थिए् । बाटो हिँडिरहेका मान्छेहरू ओत बसेका थिए् । सडकमा व्यापार गरेर बसेका मानिसहरू बिचल्लीमा परेका छन् । बिहानैदेखि मौसम खराब भए पनि यति धेरै असिना पानी आउने आकलन भएको स्थाीयहरू बताउँछन् । यस क्रममा पोखराको बजार क्षेत्र अवरुद्ध नै भएको थियो। असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ ।
असिना परिरहँदा सडकमा असिनाका थुप्रोले गर्दा सवारी साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको थियो।
असिना पानीका कारण थुप्रै सवारी साधन बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले बताए । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफूल, तोरी, गहुँ लगायत अन्नबालीमा क्षति पुगेको छ ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए । उनले बेमौसमी तरकारीमा यसले ठूलो क्षति पुर्याएको बताए । ‘पोखराको हेम्जा र मालेपाटन लगायत विभिन्न तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षति पुर्याएको छ । यसको यकिन भने फिल्डमा पुगेर नहेरी र किसानसँग जानकारी नदिई यति नै क्षति भयो भन्न सकिन्न । तर, क्षतिको आकलन गर्दा व्यापक क्षति पुगेको छ’, उनले बताए ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरूले बताएका छन । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।