काठमाडौँ
मछिन्द्र क्लबले दुई चरणका खेल बाँकी छँदै बुधबार लगातार दोस्रो पल्ट सहिद स्मारक लिग ए डिभिजन जितेको छ ।
दशरथ रंगशालामा भएको खेलमा अजरबैजानका नोर्लोन नोभरुजोभको निर्णायक गोलको मद्दतले मछिन्द्रले सातदोबाटोलाई १–० ले हरायो र डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्यो ।
मछिन्द्रले ०७६ मा पहिलोपल्ट ए डिभिजन उपाधि जितेको थियो र यस क्रममा घरेलु नेपाली फुटबलमा माथिल्लो डिभिजन जित्ने १६ औं टिम भएको थियो । यसै नेपाली घरेलु फुटबलमा नयाँ शक्तिका रूपमा आफूलाई स्थापित गरेको छ । यसपल्ट बी डिभिजन विजेता सातदोबाटोलाई हराएपछि मछिन्द्रको २९ अंक भएको छ । दोस्रोमा रहेको मनाङ मर्स्याङ्दीको २० अंक छ ।
अब लिगका बाँकी खेलका नतिजा जस्तै भए पनि मनाङले मछिन्द्रलाई उछिन्न सक्ने छैन । लिगको छैटौं चरणमा मछिन्द्रले मनाङलाई हराएको थियो र त्यसै नतिजाका आधारमा मछिन्द्र हेड टु हेड मनाङ भन्दा अगाडि रहनेछ । चोटबाट मुक्त भएर मैदानमा फर्केका नोर्लानले ५३ औं मिनेटमा गोल गरेका हुन् ।
सातदोबाटोको गोलरक्षक अभिषेक बरालले राम्रोसँग क्लियर गर्न नसकेको बलमा नोर्लानले नजिकको दूरीबाट गोल गरे । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेड अभिषकले क्लियर गर्ने क्रममा क्रसबारमा लागेर फर्केको थियो । खेलको पहिलो हाफमा सातदोबाटोले केही दबाब सिर्जना गरे पनि मछिन्द्र त्यसयता खेलमा फर्कन सफल भएको हो ।
पहिलो हाफको गोलरहित बराबरी लगत्तै नोर्लानले गोल गरेका हुन् । मछिन्द्रको यो लगातार छैटौं जित हो । यस्तै मछिन्द्रले १० खेलयता कुनै गोल खाएका छैनन् र यो गोलरक्षक विशाल श्रेष्ठको लगातार दसौं क्लिन सिट हो । अब मछिन्द्रले बाँकी दुई खेलमा थ्री स्टार र एपीएफको सामना गर्नेछ ।
मछिन्द्र पछिल्ला पटक लिग जित्न अन्तिम खेलसम्म कुर्नु परेको थियो र त्यसक्रममा आर्मीलाई हराएको थियो । यसपल्ट भने मछिन्द्र कुनै दबाबमा आएन । हारले सातदोबाटोको दुई जितको क्रम रोकिएको छ । यस अगाडि थ्री स्टार र मनाङलाई हराएर जायन्ट किलरको छवि बनाएको सातदोबाटो मछिन्द्रविरुद्ध भने निर्णायक सावित हुन सकेन ।