मतदानका लागि तयार भयो ११ सय बुथ, सोमबार मतदान हुँदै

काठमाडौं

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार मतदान हुँदैछ। नयाँ कार्यसमितिका लागि हुने मतदानको तयारी लगभग पूरा भएको निर्वाचन समितिले जनाएको छ। समितले छिटफुटबाहेक निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

निर्वाचन समितिका अनुसार एघार सय बुथमार्फत् मतदान गर्ने व्यवस्था मिलाइएको छ। मतदाताको सङ्ख्या बढी भएकाले तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। राष्ट्रियसभा गृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ। मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ। महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।

ताजा समाचार