काठमाडौँ
गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले फेरि हस्तक्षेप गर्दै नयाँ नेतृत्व छनौट थप अनिश्चित बनाइदिएको छ । एनआरएनएका अनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गरी निर्वाचन आगामी मंसिर २९ (डिसेम्बर १५) मा गर्ने तालिका सार्वजनिक भएको थियो ।
गत शुक्रबार उक्त समयतालिका सार्वजनिक भएपछि परराष्ट्रले फेरि पत्राचार गर्दै अर्को निर्देशन जारी गरेको हो । निर्वाचन समयतालिका सार्वजनिक गरेकै दिन गत शुक्रबार नै परराष्ट्रले पत्र काटेर निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषदलाई तोकिदिएको छ । जसको नेतृत्व एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले गरिरहेका छन् ।
‘एनआरएनएको इतिहासमा सरकारबाट पहिलोपटक निरन्तर हस्तक्षेप खेपिरहनु परेको छ,’ अध्यक्ष कुमार पन्तले भने, ‘परराष्ट्रको यो नांगो हस्तक्षेप हो । संस्था नियन्त्रणमा लिएर आफूले चाहेको व्यक्तिलाई जिताउने खेलमा परराष्ट्र मन्त्रालय लागिपरेको छ ।’
एनआरएनएको निर्वाचन समय तालिका परराष्ट्रले दोस्रो पटक स्थगित गरिदिएको हो । सुरुमा एनआएनएको निर्वाचन समय तालिका कात्तिक ३ गतेका लागि तोकिएको थियो । महाधिवेशन प्रतिनिधिहरुको विवाद रहेको भन्दै परराष्ट्रले उक्त निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । ‘हामीले विधिसम्मत तरिकाले निर्णय गर्ने, परराष्ट्रसँग समन्वय गरेर नै अर्को निर्वाचनको तालिका सार्वजनिक गरेका थियौँ’ अध्यक्ष पन्तले भने, ‘फेरि पनि हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया स्थगित गराएर एनआरएनए अभियान र संस्थालाई कमजोर बनाउने काम भएको छ ।’
