नर्सिङको पठनपाठन गराउन सय बेड हुनैपर्ने

काठमाडौँ — मापदण्डअनुसार कम्तीमा सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बैठकले चिकित्सा शिक्षा ऐनको मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई भने नर्सिङ पठनपाठनको अनुमति नदिने निर्णय गरेको हो ।यसअघि मापदण्डविपरीतका शैक्षिक संस्थालाई समेत अनुमति दिने ‘चलखेल’ भएको थियो ।

सीटीईभीटीले नै सय बेडको अस्पताल नभएका शिक्षण संस्थामा विद्यार्थी भर्ना खोल्न पाउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । त्यसको चौतर्फी विरोध भएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको परिषद् बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्र विद्यार्थी भर्नाको अनुमति दिने निर्णय गरेको हो ।

परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए । सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ ।

आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए ।

ताजा समाचार