जापानभरका २८ हजारभन्दा बढी एटीएमबाट अब JME वालेटमा रकम जम्मा गर्न सकिने

सेभेन बैंकसँग JME रेमिटको सहकार्य, डिसेम्बर १ देखि क्यूआर कोडमार्फत रकम जम्मा गर्ने सुविधा सुरु हुँदै

टोकियो

जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जापान मनि एक्सप्रेस (JME Remit) ले आफ्नो डिजिटल सेवा विस्तार गर्ने भएको छ।

कम्पनीले जापानको प्रतिष्ठित सेभेन बैंक (Seven Bank) सँग सहकार्य गरी सन् २०२६ डिसेम्बर १ देखि जापानभरका २८ हजारभन्दा बढी एटीएमबाट क्यूआर कोड (QR Code) स्क्यान गरेर सिधै JME वालेटमा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याउन लागेको हो।

नयाँ सुविधासँगै सेवाग्राहीले जापानका विभिन्न स्थानमा रहेका सेभेन बैंकका एटीएम प्रयोग गरी सहज रूपमा आफ्नो JME वालेटमा रकम जम्मा गर्न सक्नेछन्। यसले विशेषगरी व्यस्त जीवनशैली भएका नेपाली तथा अन्य विदेशी समुदायका सेवाग्राहीलाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

JME Remit ले यसअघि नै लसन (Lawson) का एटीएम, जापान पोस्ट बैंक (JP Bank) लगायत विभिन्न बैंकमार्फत रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ। सेभेन बैंकसँगको नयाँ सहकार्यले कम्पनीको सेवा सञ्जाललाई थप फराकिलो बनाउने विश्वास गरिएको छ।

जापानमा विगत १६ वर्षदेखि रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको JME Remit ले जापानमा रहेका नेपाली समुदायलाई आर्थिक कारोबार तथा विप्रेषण सेवामार्फत सहजीकरण गर्दै आएको छ। कम्पनीले आफ्नो सेवामार्फत नेपालसहित विभिन्न देशमा रकम पठाउन सहज वातावरण निर्माण गर्दै आएको जनाएको छ।

JME Remit का अध्यक्ष ओम गुरुङले नयाँ सेवाले सेवाग्राहीलाई थप सहजता र सुविधा प्रदान गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र प्रभावकारी सेवा विस्तारलाई प्राथमिकता दिने बताएका छन्।

Screenshot
Screenshot
Screenshot
Screenshot

ताजा समाचार