कांग्रेसको १५औं महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैंपछि

काठमान्डौ

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सकिएको छ।

मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि सुरू भएको मतगणना सम्पन्न भएको हो।

लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको उनले बताए।

सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र केही बेरमै नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ। अन्य पदको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको थियो।

गत असोज २३ गते मतदानपछि सोही दिन राति सभापतिको मतगणना सुरू गरिएको थियो। सभापतिको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।

निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार कांग्रेसको १४औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको छ।

उनका अनुसार मतगणना सुरू भएकै दिनदेखि दिन र रातमा गरी झन्डै २५ समूह बनाएर गणना गरिएको थियो। मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले बताए।

यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको कटुवालले जानकारी दिए। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो।

अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको निर्वाचन समितिका सदस्यसचिव कटुवालको दाबी छ।

उनका अनुसार निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैंलगत्तै गर्ने तयारी छ। त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्। उक्त बैठकमा स्थानीय तहको निर्वाचनको तयारी र रणनीतिसम्बन्धी खाका तयार गर्ने विषयमा समेत छलफल हुने बुझिएको छ।

ताजा समाचार