जापानमा सेप्टेम्बर विद्यार्थीका लागि संवेदनशील, आत्महत्या जोखिम उच्च

उदय सुबेदी

टोकियो

जापानमा गर्मी बिदापछि विद्यालय पुनः सञ्चालन हुने अगस्टको अन्त्यदेखि सेप्टेम्बरसम्मको अवधि विद्यार्थीको मानसिक स्वास्थ्यका दृष्टिले संवेदनशील मानिएको छ। सरकारी तथ्यांकले विद्यालय फर्किने समय आसपास विद्यार्थी आत्महत्याको संख्या बढ्ने प्रवृत्ति देखाएको छ।

जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय (MEXT) का अनुसार २०२५ मा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहका ५३८ विद्यार्थीले आत्महत्या गरेका थिए, जुन सन् १९८० यताकै उच्च संख्या हो। २०२४ मा यो संख्या ५२९ थियो।

MEXT को विश्लेषणअनुसार सन् २००९ यताका दैनिक तथ्यांकमा अगस्टको दोस्रो आधादेखि विद्यार्थी आत्महत्यामा वृद्धि हुने र सेप्टेम्बर १ आसपास संख्या उच्च हुने प्रवृत्ति देखिएको छ। २०२४ र २०२५ दुवै वर्ष सेप्टेम्बरमा विद्यार्थी आत्महत्याको संख्या सबैभन्दा बढी थियो।

सरकारी तथ्यांकमा शैक्षिक असफलता, प्रवेश परीक्षा तथा भविष्य र करियरसम्बन्धी चिन्ता विद्यार्थी आत्महत्यासँग जोडिएका प्रमुख विद्यालयसम्बन्धी कारणमध्ये देखिएका छन्। बुलिइङ, साथीभाइसँगको समस्या, पारिवारिक तनाव र सामाजिक एक्लोपन पनि जोखिमसँग सम्बन्धित देखिन्छन्।

तर विशेषज्ञ तथा सरकारी निकायले सेप्टेम्बर वा विद्यालय खुल्नु मात्र आत्महत्याको प्रत्यक्ष कारण नभएको र आत्महत्या बहुआयामिक समस्या भएकोमा जोड दिएका छन्।

यसैकारण जापान सरकारले विद्यालयलाई गर्मी बिदाअघि नै जोखिममा रहेका विद्यार्थी पहिचान गर्न, बिदाका क्रममा सम्पर्क कायम राख्न तथा विद्यालय खुलेपछि आवश्यक परामर्श र सहयोग उपलब्ध गराउन आग्रह गर्दै आएको छ।

समग्र जापानमा भने २०२५ मा आत्महत्याको संख्या १९,१८८ मा झरेर सरकारी तथ्यांकमा अहिलेसम्मकै न्यून भएको थियो। तर विद्यार्थी आत्महत्या रेकर्ड उच्च हुनु बालबालिका तथा किशोरको मानसिक स्वास्थ्यमा छुट्टै चुनौती रहेको संकेतका रूपमा देखिएको छ।

ताजा समाचार