इचिकावा सहरमा भारी वर्षापछि सडक जलमग्न

उदय सुबेदी

चिबा

जापानको चिबा प्रिफेक्चरस्थित इचिकावा सहरमा सोमबार, सेप्टेम्बर २१ को बिहान परेको भारी वर्षाका कारण विभिन्न स्थानमा सडकहरू जलमग्न भएका छन्। स्थानीय स्रोतका अनुसार सहरका केही क्षेत्रमा सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ।

विशेषगरी SHOPS Ichikawa आसपासका सडकमा समेत पानी जमेको देखिएको छ। लगातारको वर्षाका कारण इचिकावा सहरमा बाढीसम्बन्धी जोखिम बढेपछि स्थानीय अधिकारीहरूले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्। इचिकावा सहरमा भारी वर्षा तथा बाढीसम्बन्धी चेतावनीसमेत जारी गरिएको थियो।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार चिबा प्रिफेक्चरलगायत कान्तो क्षेत्रमा भारी वर्षाको जोखिम बढेको छ। सेप्टेम्बर २१ का दिन चिबा क्षेत्रमा केही स्थानमा तीव्र वर्षा हुने तथा २४ घण्टामा उल्लेख्य वर्षा हुन सक्ने पूर्वानुमान गरिएको थियो।

भारी वर्षाका कारण इचिकावा सहरका केही सडकमा पानी जम्नुका साथै सार्वजनिक यातायातमा समेत असर परेको छ। स्थानीय जानकारीअनुसार केही बस मार्गमा सेवा परिवर्तन तथा केही रेल सेवामा ढिलाइ भएको थियो।

यसैबीच, इचिकावा सहरले एदो नदीको ग्योतोकु चलायमान बाँध (Gyotoku Movable Weir) सेप्टेम्बर २१ को बिहान करिब ११ः३० बजे खोल्ने जानकारी दिएको छ। बाँध खोलिएपछि नदी तथा नदीकिनार क्षेत्रमा पानीको सतह बढ्न सक्ने भएकाले नागरिकलाई नदी तथा नदीकिनार नजिक नजान आग्रह गरिएको छ।

स्थानीय प्रशासनले जलमग्न सडकमा अनावश्यक आवतजावत नगर्न, पानीको गहिराइ नदेखिने स्थानमा सवारीसाधन नचलाउन तथा प्रशासनबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ।

ताजा समाचार