आमाको ऋणको मूल्य १२ वर्षीया छोरीले चुकाइन्, जापानमा यौन शोषणको दर्दनाक घटना सार्वजानिक

टोकियो

जापानको टोकियोमा १२ वर्षीया थाई बालिकालाई मसाज पार्लरमा काम लगाएर यौन सेवामा समेत संलग्न गराएको घटनामा पूर्वसञ्चालकलाई ५ वर्षको जेल र १० लाख येन जरिवाना सुनाइएको छ।

टोकियो जिल्ला अदालतले ५२ वर्षीय मासायुकी होसोनोलाई बालकल्याणसम्बन्धी कानुन उल्लंघन गरेको ठहर गरेको हो। अदालतका अनुसार बालिका २०२५ को जुनमा आमासँग पर्यटक भिसामा जापान आएकी थिइन्। आमाले छोरीलाई आफ्नो ऋण तिर्न जापानमा काम गर्न निर्देशन दिएको र बालिका पहिले आफूले भोगेको हिंसाका कारण आमाको कुरा अस्वीकार गर्न नसकेको अदालतले उल्लेख गरेको छ।

बालिकालाई कामको वास्तविक प्रकृति जापान आएपछि मात्र थाहा भएको र त्यसमा यौन सेवा पनि समावेश रहेको अदालतको फैसलामा उल्लेख छ। करिब एक महिनाको अवधिमा उनलाई करिब ६० जना ग्राहकलाई यौन सेवा दिन बाध्य पारिएको अनुसन्धान तथा अदालती विवरणमा आएको छ।

बालिकाकी आमाले पार्लर सञ्चालकलाई छोरी २० वर्षीया बहिनी भएको बताएकी थिइन्। तर सञ्चालकले उनको परिचयपत्र वा उमेर पुष्टि गर्ने कागजात जाँच नगरेको अदालतले औँल्याएको छ। सञ्चालकले बालिका १२ वर्षकी भएको आफूलाई थाहा नभएको दाबी गरे पनि अदालतले उमेर जाँच गर्न पर्याप्त सावधानी नअपनाएको ठहर गरेको हो।

घटना सार्वजनिक भएपछि बालिका पार्लरबाट भागेर टोकियो क्षेत्रीय अध्यागमन कार्यालयमा सहयोग माग्न पुगेकी थिइन्। उनलाई मानव बेचबिखन तथा यौन शोषणको पीडितका रूपमा संरक्षणमा राखिएको थियो। पछि उनी थाइल्यान्ड फर्किएकी छन्।

यस घटनामा बालिकाकी आमालाई पनि थाइल्यान्डमा छोरीलाई यौन सेवामा लगाउन मानव बेचबिखन गरेको अभियोगमा ७ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ।

ताजा समाचार