रोल्पामा २ दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सनुछहरी शोकमा

रोल्पा। रोल्पाको पूर्वी क्षेत्रमा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।  थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका शोकमा छन् ।

गत २७ गते बुधबार थबाङ गाउँपालिका -५ कोटलबारामा पहिरोले एउटा बस्ती नै बगायो । पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । २ जनाको बुटवलमा उपचार भइरहेको छ ।

पहिरोले दिएको पीडा सहन नसक्ने अवस्थामा छन् आफन्त र स्थानीवासीहरू । ‘घर बाहिर अविरल वर्षा भइरहेको थियो । कोहीले खान खाएका थिए होलान्,कोहीले खाना खाने तर्खमा थिए होलान्, केही खाएर बसेका थिए होलान् । कोही आफ्नो बिस्तारामा पल्टिएका थिए होलान्’, मृतक ७ वर्षीय अशोक पुनमगरका काका कष्णले सुनाए, ‘एक्कासी पहिरो आयो र त्यसमा परेर अकालमा ज्यान गुमाउने पुगे । मनभरि पीडाको भारी छ ।’

पहिरोमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८५ वर्षीया हस्तकला रोकामगर,७ वर्षीय अशोक पुनमगर,३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर र ८० वर्षीय बलबहादुर पुन मगर र ६१ वर्षीय लिलबहादुर पुनमगरको मृत्यु भएको छ ।

९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर बेपत्ता रहेका छन् । घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

११ जनाको मृत्यु, २ जना बेपत्ता र २ जना घाइते भएको थबाङ चिन्तित र शोकमा रहेको  गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढामगरले बताए । ‘हामीले यति धेरै मानवीय र भौतिक क्षति हुन्छ भनेर कल्पना गरेका थिएनौं, दु:खद घटना घट्यो मृतक सबैमा हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गाउँपालिकाको तर्फबाट र मेरो तर्फबाट व्यक्त गर्दछु’, अध्यक्ष बुढामगरले भने ।

थबाङमा मात्रै पहिरोमा परेर ९ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना बगाएको थियो ।

रोल्पाको सुनछहरी गाउँपालिका-२ फलबाङ्ग र गिट्ठेमा पनि पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । सुनछहरी-२ फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर,७० वर्षीया लली घर्तीमगर र गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्तीमगर रहेका छन् ।

सुनछहरीका अध्यक्ष धनबहादुर पुनमगर अघिल्लो दिनको थबाङ-५ कोटलबारामा गएको पहिरोमा मृतक र बेपत्ताको उद्धारका लागि खटिएका थिए । तर, उस्तै घटना आफ्नो पालिकामा भयो ।

चारजनाको पहिरोमा परी मृत्यु भएको घटनाले आफू मर्माहत भएको अध्यक्ष धनबहादुरले बताए । ‘प्रकृतिले कतिबेला धोका दिन्छ,त्यो कसैले थाहा हुँदैन,जुन घटनाले गाउँपालिकालाई चिन्तित र मर्माहत बनायो, मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’, अध्यक्ष पुनले भने ।

रोल्पा बुधबार र बिहीबार गरी पहिरोमा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । दुई जना घाइतेको उपचार भइरहेको छ । घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको छ।

ताजा समाचार