राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर राणाले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।
शुक्रबार दिउँसो केही नेताहरूसहित निर्वाचन आयोगमा पुगेर उनले आफ्नो नेतृत्वमा पार्टी दर्ता गर्न निवेदन दिएका हुन्।
नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ।
पार्टीको चुनाव चिह्न त्रिभुज राखिएको छ। पार्टीको झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने छ।
पार्टीमा तत्कालका लागि ७९ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको केन्द्रीय सदस्यसमेत रहेका सचिवालय प्रमुख सगुनसुन्दर लावतीले जानकारी दिए। निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र भने केही दिनमा दिनेछ।
पूर्वमहामन्त्री राणासहित १८३ जना नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको असन्तुष्टि व्यक्त गर्दै राप्रपा छाडेका थिए।
त्यसपछि उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गरिरहेका दुर्गा प्रसाईंसँग मिलेर एउटै पार्टी खोल्ने सहमति गरेका थिए।
तर नेतृत्वको विषयमा मतभेद भएपछि प्रसाईं भने आज दल दर्ता गर्न गएका थिएनन्।