नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला गर्नुपरेको बताएका छन्।
आज काठमाडौंको सुकेधारामा भएको भेला उद्घाटन कार्यक्रममा बोल्दै संयोजक कोइरालाले भने, ‘यो भेला किन आयोजना गर्नुपर्यो? किनभने कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। एकजुट भएका खण्डमा कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन।’
उनले आफूहरूको सभापति र नेता देउवा नै भएको बताएका थिए। ‘हाम्रो नेता र सभापति शेरबहादुर देउवाजी नै हो, उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ कोइरालाले भने
उनले देउवा आउनेबित्तिकै राष्ट्रिय भेला सफल भइसकेको पनि जिकिर गरेका थिए। ‘धेरै जिल्लाबाट साथीहरू आउनुभएको छ, राम्रो खाना खुवाउन सकिएको छैन, सकेको गर्छौं, भेलाका कमीकमजोरीप्रति माफी माग्छु, देउवा आउनेबित्तिकै यो भेला पूर्ण सफल भइसकेको छ,’ उनले भने।
साथै उनले बिपी कोइरालाले शेरबहादुरलाई भन्ने गरेको कुरा पनि सम्झिएका थिए।
‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बिपी कोइराला भन्नुहुन्थ्यो। देउवा पहिलो पटक बनारस आउँदा बिपीले शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभएको थियो। के गर्ने भनेर मैले ३ वटा सिनेमा एकैदिनमा हेर्न लगेको थिएँ,’ उनले भने, ‘बिपीले सिनेमा नहेर्न भन्नुहुन्थ्यो तर पनि सिनेमा हेरियो भनेर मैले बिपीलाई भनेपछि उहाँले कसले निर्देशन गरेको चलचित्र हो, यसको सन्देश के होजस्ता प्रश्न गर्दा शेरबहादुरजीले हुबहु भनिदिनुभएको थियो।’
त्यसपछि शशांकले गिरिजाप्रसाद कोइरालाले शेरबहादुरलाई बोलाउन अह्राएको प्रसंग निकालेका थिए।
‘गरिरजाबाबुले भन्नुभयो शेरबहादुरलाई बोलाऊ भनेर। उहाँ त्यसबेला लन्डनमा हुनुहुन्थ्यो। यहाँ परिवर्तन भयो फर्किनुस् शेरबहादुरजी भनेर मैले भनेँ, उहाँ आउनुभयो पनि। नेपाल आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो। शेरबहादुरको भाग्य यति राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो,’ उनले विगत सम्झिँदै भने।