राष्ट्रिय भेला’का लागि तयार गरियो ५५ सय कुर्सी, देउवा र शशांकलाई विशेष आसन

निधिदेखि लेखकसम्मले पेस गर्ने छन् ५ प्रतिवेदन

नेपाली कांग्रेसको संस्थापन इतर पक्षको शुक्रबार उद्घाटन हुने ‘राष्ट्रिय भेला’को सम्पूर्ण तयारी पूरा भएको छ। इतर पक्षले काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा साउन २९–३१ मा राष्ट्रिय भेला गर्न लागेको हो। 

करिब ६ महिना सिंगापुर–हङकङ बसेर बिहीबार स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर पक्षले राष्ट्रिय भेला गर्दैछ। विदेशबाट फर्किएका देउवा विमानस्थलबाट सिधै इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि महाराजगन्जको चुनदेवीमा खोलेको सम्पर्क कार्यालय पुगेका थिए। गत पुस २७–३१ मा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा उभिएका कांग्रेसका नेताहरू सभापति गगन थापामाथि दबाब बढाउन राष्ट्रिय भेलासम्म पुगेका छन्।

राष्ट्रिय भेला संयोजक तथा पूर्वमहामन्त्री शशांक कोइरालाले उद्घाटन कार्यक्रमको अध्यक्षता गर्ने छन् भने देउवाको प्रमुख आतिथ्य रहने छ। नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलाको आसन विशिष्ठ अतिथिका रूपमा हुने छ। 

शुक्रबार बिहान साढे ११ बजे भेलाको उद्घाटन हुनेछ। 

भेलामार्फत शक्ति प्रदर्शन
पार्टीको आधिकारिता विवादमा पुनः सुनाइका लागि सर्वोच्च अदालतले साउन २१ मा निस्सा (अनुमति) दिएपछि इतर पक्षले भेलालाई नीति सम्मेलन र शक्ति प्रदर्शनका रूपमा मात्र सीमित राख्ने नेताहरू बताउँछन्। 

शनिबार बन्दसत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ। दिउँसो खानापछि १ बजेपछि फेरि बन्दसत्र चल्ने कार्यतालिका छ। भेलाको बन्दसत्रमा पूर्वउपसभापति निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन पेस हुने छ। 

उक्त प्रतिवेदनमा विशेष महाधिवेशन गर्दा गत फागुन २१ को निर्वाचनमा कांग्रेसले भोगेका पराजयको निर्मम समीक्षा हुने विश्वकर्मा बताउँछन्।

सर्वोच्च अदालतको निस्सा दिने आदेशअघि एउटा परिस्थिति थियो। अब त्यो भेला वर्तमान परिस्थिति र पार्टीको आगामी नीतिमाथि केन्द्रित हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘पार्टीको राजनीतिक, आर्थिक र विधान सम्बन्धी विषयमा घनिभूत छलफल हुन्छ। हामी किन नियमित महाधिवेशनको पक्षमा उभिएका थियौँ, विशेष महाधिवेशन गर्दा भोग्नु परेको क्षतिका विषयमा कुरा हुन्छ।’

यस्तै प्रकाशशरण महतको आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव र नेता रमेश लेखकको विधान संशोधन सम्बन्धी प्रस्ताव भेलामा पेस हुने विश्वकर्माले बताए। संस्थापन पक्षले विशेष महाधिवेशनमा गरिएको विधान संशोधनलाई चुनौती दिने गरी लेखकले विधानमा संशोधन प्रस्ताव तयार पारेको बुझिएको छ। उक्त प्रतिवेदनमा दुई दिन छलफल गरेर पार्टीको आगामी राजनीतिक, सांगठनिक, आर्थिक कार्यदिशा तय गरिने उनको भनाइ छ।

भेलामा प्रचार–प्रसार समिति संयोजन मीन विश्वकर्मा, आर्थिक व्यवस्थापन दीपक खड्का, प्रशासन समन्वय मोहनबहादुर बस्नेत र भोजन व्यवस्था पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले गरिरहेका छन्। यस्तै जितजंग बस्नेतले स्वयंसेवक परिचालन, विद्या तिमिल्सिनाले सांस्कृतिक, राजु श्रेष्ठले मञ्च तथा हल व्यवस्थापन, उमेशजंग रायमाझीले स्वास्थ्य सेवा र किरण पौडेलले विदेशस्थित नेपाली जनसम्पर्क समन्वय गरिरहेका छन्। 

ट्रेड युनियन समन्वय हरिशरण नेपाली, भ्रातृ संस्था समन्वय गोविन्दबहादुर शाह, शुभेच्छुक संस्था समन्वय ईश्वरी न्यौपाने, आदिवासी जनजाति समन्वय गणेश लामा र दलित समुदाय समन्वय नृप वडको जिम्मा छ। उषा राउतलाई महिला, कुन्दनराज काफ्लेलाई युवा विद्यार्थी परिचालन र भीमसेनदास प्रधानलाई पेसागत बुद्धिजीवी परिचालनको काम दिइएको छ।

प्रदेश समन्वय समितिहरूको संयोजन वीरबहादुर बलायर (सुदूरपश्चिम), सीता राना (कर्णाली), गेहेन्द्र गिरी (लुम्बिनी), गुरु बराल (गण्डकी), शिव हुमागाईं (बागमती), पदमनारायण चौधरी (मधेश) र गोमा भट्टराई (कोसी) ले गरिरहेका छन्। वैदेशिक रोजगार व्यवसायी समन्वय समितिमा सीता देवकोटा, जिल्ला–काठमाडौँ सम्पर्क समन्वय मानबहादुर नेपाली र सचिवालय समन्वयमा दीपकप्रसाद कुइँकेलले गरिरहेका छन्। 

इतर पक्षका नेताहरू राष्ट्रिय भेलाले पार्टीका एकताको परिस्थिति निर्माण गर्ने बताउँछन्। नेता शेखर कोइरालाले पार्टी एकताको उद्घोष गर्न भेलामा सहभागी हुन लागेको बताएका छन्। यस्तै पूर्वउपसभापति पूर्णबहादुर खड्काले पनि राष्ट्रिय भेलामार्फ देउवाले एकताको सन्देश दिने बताउँछन्। 

‘हाम्रो अभिभावक (शेरबहादुर देउवा) भदौ २४ गतेको घटनामा धेरै ठूलो आक्रमणमा परेर गम्भीर घाइते हुनुभएको सबैलाई थाहा छ। उहाँ थप स्वास्थोपचारका लागि विदेश जानुभएको थियो,’ उनले भने, ‘आज उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर आउनुभएको हामीले पायौँ। यसबाट हामी सबै खुसी र उत्साहित भएका छौँ। अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा उहाँले निर्णायक भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास छ।’ 

बिहीबारको कांग्रेस केन्द्रीय समिति बैठकले देउवाले अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

(नेपालखबर)

ताजा समाचार