चिवाको इचिकावाका पाँच क्षेत्रमा ‘लेभल–५’ आपत्कालीन सुरक्षा सूचना जारी

उदय सुबेदी

टोकियो । चिबा प्रिफेक्चरको इचिकावा सिटीले भारी वर्षाका कारण डाइहाकु नदी (大柏川) मा बाढी आउन सक्ने जोखिम बढेपछि पाँच क्षेत्रमा ‘सावधानी स्तर–५ : आपत्कालीन सुरक्षा सुनिश्चितता’ (Emergency Safety Assurance) जारी गरेको छ।

इचिकावा सिटीले जारी गरेको आपत्कालीन सूचनाअनुसार ओहोनोमाची (大野町), ओमाची (大町), मिनामी–ओहोनो (南大野), काशिवाइ–माची (柏井町) र होउमेनमाची (奉免町) क्षेत्रमा डाइहाकु नदीमा बाढीको जोखिमलाई ध्यानमा राख्दै उच्चतम जोखिमको चेतावनी जारी गरिएको हो।

सिटीले जारी गरेको आपत्कालीन अलर्टमा ‘पहिल्यै विपद् उत्पन्न भइसकेको हुन सक्ने सम्भावना’ रहेको उल्लेख गर्दै स्थानीय बासिन्दालाई तत्काल आफ्नो ज्यान जोगाउने सबैभन्दा सुरक्षित उपाय अपनाउन आग्रह गरिएको छ। जापानको विपद् व्यवस्थापन प्रणालीमा ‘सावधानी स्तर–५’ सबैभन्दा उच्च तह हो। यस अवस्थामा विपद् भइरहेको वा जुनसुकै बेला गम्भीर अवस्था उत्पन्न हुन सक्ने भएकाले मानिसहरूले आफ्नो वरपरको अवस्थाअनुसार तत्काल सुरक्षित स्थानमा जानुपर्ने हुन्छ।

इचिकावा सिटीले सार्वजनिक गरेको सूचनामा प्रभावित क्षेत्रमा रहेका नागरिकलाई परिस्थितिअनुसार नजिकको सुरक्षित तथा उच्च स्थानमा जान, घरमै रहनुपर्ने अवस्था भए सुरक्षित माथिल्लो तलामा सर्न तथा बाढीको पानीको बहाव वा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।

यसअघि नै चिबा तथा टोकियोसहित कान्तो क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा, सडक जलमग्न हुने तथा अचानक आएको मुसलधारे वर्षाका घटना देखिएका छन्। अगस्ट १३ मा कान्तोका विभिन्न क्षेत्रमा भारी वर्षाका कारण सडकमा पानी जम्ने तथा यातायात प्रभावित हुने घटना पनि सार्वजनिक भएका छन्।

‘लेभल–५’ को अर्थ के हो?

जापानको पाँच तहको विपद् चेतावनी प्रणालीमा लेभल–५ ‘緊急安全確保 (किंक्यू आन्जेन काकुहो)’ सबैभन्दा गम्भीर तह हो। यसको अर्थ विपद् सुरु भइसकेको वा अत्यन्त नजिक पुगेको अवस्था हो। यस्तो अवस्थामा सामान्य रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत जोखिमपूर्ण हुन सक्ने भएकाले प्रत्येक व्यक्तिले आफ्नो तत्कालको अवस्थाअनुसार ज्यान जोगाउने सबैभन्दा सुरक्षित कदम चाल्नुपर्ने हुन्छ।

इचिकावा सिटीको सूचनाले पनि प्रभावित क्षेत्रका नागरिकलाई ढिला नगरी जीवनरक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।

स्थानीय प्रशासनले बाढीको जोखिम भएका क्षेत्रमा रहेका बासिन्दालाई नदी, नाला तथा पानीको तीव्र बहाव भएका स्थानबाट टाढा रहन, अनावश्यक रूपमा बाहिर ननिस्कन तथा प्रशासनबाट जारी हुने थप सूचना निरन्तर पालना गर्न आग्रह गरेको छ।

सम्बन्धित क्षेत्रमा रहेका नेपालीसहित सबै विदेशी नागरिकलाई पनि स्थानीय प्रशासनको सूचना, मोबाइलमा आउने आपत्कालीन अलर्ट र स्थानीय प्रसारणमा आउने निर्देशनलाई प्राथमिकताका साथ पालना गर्न आवश्यक छ।

ताजा समाचार