टोकियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग भएको दाबी गर्दै आएको कुरिल द्वीपसमूहमध्ये (एतोरोफु) द्वीपको भ्रमण गरेपछि जापान र रुसबीचको पुरानो क्षेत्रीय विवाद फेरि चर्किएको छ।
बिहीबार, अगस्ट १३ मा पुटिन पहिलोपटक उक्त विवादित द्वीपमा पुगेका हुन्। उनले त्यहाँ माछा प्रशोधन केन्द्र, अस्पताल तथा विद्यालयको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग भेटघाट गरेका थिए।
पुटिनको भ्रमणप्रति जापान सरकारले कडा विरोध जनाएको छ। जापानी प्रधानमन्त्री साने ताकाइचीले पुटिनको भ्रमणलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै यसले जापानी जनताको भावनामा चोट पुर्याएको बताएकी छन्।

जापानले एतोरोफुसहित कुनाशिरी, शिकोटान र हाबोमाई द्वीपहरूलाई ‘नर्दन टेरिटोरिज’ अर्थात् उत्तरी भूभाग भन्दै आफ्नो क्षेत्र दाबी गर्दै आएको छ। दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सोभियत संघले यी द्वीपहरू आफ्नो नियन्त्रणमा लिएपछि जापान–रुसबीच यो क्षेत्रीय विवाद कायम छ।
जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगीले पनि द्वीपहरू ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुन दुवैका आधारमा जापानी भूभाग भएको दाबी गर्दै रुसी राष्ट्रपतिको भ्रमणप्रति औपचारिक रूपमा कडा आपत्ति जनाएका छन्।
पुटिनको यो भ्रमणलाई रुसले विवादित द्वीपहरूमाथि आफ्नो प्रशासन र सार्वभौमिकताको दाबी थप बलियो रूपमा प्रस्तुत गरेको संकेतका रूपमा हेरिएको छ। यसले जापान–रुस सम्बन्धमा थप तनाव बढाउने र दुई देशबीच लामो समयदेखि रोकिएको औपचारिक शान्ति सन्धिको सम्भावनालाई अझ कठिन बनाउने देखिएको छ।