काठमाडौँ — कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्कने तालिका संशोधन गरिएको छ । यसअघि २६ साउन राति ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुग्ने तय भएकामा अब उनी २८ साउन दिउँसो नेपाल आउने भएका छन् ।
कांग्रेस नेता प्रकाशशरण महतका अनुसार उनी बैंकक हुँदै थाइ एयरलायन्सबाट नेपाल आउँदैछन् । स्वास्थ्य उपचारका लागि देउवा गत १३ फागुनमा सिंगापुर गएका थिए । उनी त्यसबेला प्रतिनिधिसभा निर्वाचनमा मतदानसमेत नगरी उपचारका लागि सिंगापुर गएका थिए । करिब पाँच महिनापछि उनी स्वदेश फर्कन लागेका हुन् ।
फर्कदा विमानस्थलमा देउवालाई स्वागत गर्न ठूलो संख्यामा नेता–कार्यकर्ता उपस्थित गराउने तयारी रहेकाले रातिको समयलाई यताबाट संशोधन गर्न आग्रह गरिएको थियो । त्यसैअनुसार उनको टिकट सारिएको हो ।
पहिला २६ गते राति ९ बजेर ४५ मिनेटको थियो । सबैले दिउँसो आउनुपर्छ भनेपछि संशोधन भयो,’ कांग्रेस नेता प्रकाशरण महतले भने, ‘अब २८ गते बैंकक हुँदै थाई एयरलाइन्सबाट दिउँसो १२ बजेर २५ मिनेटमा ल्याण्ड गर्ने तालिका छ । हामी १२ बजेभन्दा अगाडि नै एयरपोर्ट पुग्छौं ।’
तत्कालीन केन्द्रीय कार्यसमितिका मुख्य सचिव कृष्ण पौडेलले पनि देउवा २८ साउन दिउँसो नेपाल आउने निश्चित भएको बताए । उनका अनुसार देउवा दिउँसो १२ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
देउवा लामो समयपछि नेपाल फर्कन लागेकाले उनको स्वागतका लागि ठूलो संख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित गराउने तयारी भइरहेको छ । स्वागतका लागि उपयुक्त समय मिलाउनकै लागि यसअघि तय भएको २६ साउन राति ९ः४५ बजेको उडानको टिकट संशोधन गरिएको नेताहरूले बताएका छन् ।