उदय सुबेदी
टोकियो । अनेसास जापानले अग्रज साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रस्टी सदस्य शुष्मा ओमातालाई ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान २०२३’ प्रदान गर्ने भएको छ। अनेसास जापानको नियमित साहित्य शृङ्खलाको ८४औँ अङ्क तथा साहित्यकार ओमाताको ८४औँ वर्ष प्रवेशको सुखद संयोग पारेर विशेष साहित्यिक समारोह आयोजना गर्न लागिएको हो।
अनेसास जापानका अनुसार ओमाताको लामो समयदेखिको साहित्यिक योगदान र साधनाको सम्मानस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको हो। सम्मान समारोहमा ओमातालाई सम्मानपत्र तथा सम्मान अर्पण गरिनेछ।
कार्यक्रममा सम्मानसँगै खुला रचना वाचनसमेत आयोजना गरिने आयोजकले जनाएको छ। जापानमा रहेका नेपाली साहित्यकार, स्रष्टा, साहित्यप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
अनेसास जापानले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन तथा जापानमा रहेका नेपाली स्रष्टाहरूलाई जोड्ने उद्देश्यले नियमित रूपमा साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ। नियमित साहित्य शृङ्खलाको ८४औँ अङ्कलाई विशेष बनाउँदै आयोजना गर्न लागिएको यस कार्यक्रमले जापानमा नेपाली साहित्यको विकास, पुस्तान्तरण र साहित्यिक स्रष्टाको सम्मानमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ।
कार्यक्रम आगामी २०२६ अगस्ट २३ तारिख आइतबार दिउँसो १ः३० बजे सिन्जुकुस्थित सोलमारी हलमा आयोजना हुनेछ। अनेसास जापानले कार्यक्रममा व्यक्तिगत तथा संस्थागत रूपमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबै साहित्यप्रेमी तथा शुभेच्छुकलाई हार्दिक निमन्त्रणा गरेको छ।