कास्की पोखरा समाज जापानद्वारा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको टोलीलाई स्वागत

उदय सुवेदी

टोकियो । कास्की पोखरा समाज जापानले नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डललाई जापानमा स्वागत सहित सम्मान गरेको छ।

नेपाल पत्रकार महासंघको ग्लोबल सम्मेलनमा सहभागी हुन जापान आएका नेपाल पत्रकार महासंघ नेपालका अध्यक्ष निर्मला शर्मा, महासंघ गण्डाकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महासंघ कास्कीका अध्यक्ष नाधव बराल लगायतकालाई समाजले एक कार्यक्रमको आयोजना गरी स्वागत सहित सम्मान गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी तथा प्रतिनिधिहरू, जापानस्थित नेपाली पत्रकार, कास्की पोखरा समाज जापानका पदाधिकारी तथा सदस्यहरू लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा रहेका नेपाली समुदाय र नेपालको पत्रकारिता क्षेत्रबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। प्रवासी नेपाली समुदायका गतिविधि, समस्या, उपलब्धि तथा योगदानलाई नेपाल र विश्वसामु पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डललाई कास्की पोखरा समाज जापानका तर्फबाट मायाको चिनो तथा सम्मानपत्र प्रदान गर्दै स्वागत गरिएको थियो। सहभागीहरूले नेपाल र जापानमा रहेका नेपाली समुदायबीचको सम्बन्ध विस्तार, सामाजिक सहकार्य तथा पत्रकारिता क्षेत्रको विकासका लागि आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

ताजा समाचार