डडेल्धुरामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चालकसहित तीन जना घाइते

कैलाली । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का करिब ४५ वर्षीय सुगन लोथ्याल र सोही ठाउँका करिब २८ वर्षीय हनु लोथ्याल रहेका छन्।

दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जीप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।

ताजा समाचार