इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
सम्पन्न खेलमा कंगोलाई २–१ गोलले हराउँदै इंग्ल्यान्डले प्रि–क्वाटरफानलमा स्थान बनाएको हो। एक गोलले पछि परेको अवस्थामा इंग्ल्यान्डले शानदार कमब्याक गर्यो।
इंग्ल्यान्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे। खेलको सातौं मिनेटमा नै कंगोले अग्रता लिएको थियो। ब्रायन सिपेंगाले गोल गर्दै कंगोलाई सुरुआती अग्रता दिलाएका हुन्।
लगातार दबाबमा राखेपनि कंगोले इंग्ल्यान्डलाई रोकिराखेको थियो। ७५ औं मिनेटमा केनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसको ११ औं मिनेटपछि केनले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण जित दिलाए।
योसँगै केनले विश्वकपमा गोल संख्या १३ पुर्याएका छन्। उनले ब्राजिलका दिग्गज पेलेलाई पछि पारे। दुई गोल गरेसँगै केन गोल्डेन बुटको दौडमा पनि अगाडि आएका छन्।
उनले ५ गोल गरेका छन्। नर्वेका एर्लिङ हालान्डले पनि समान ५ गोल गरेका छन् भने यी दुईभन्दा अघि किलियन एम्बाप्पे र लियोनल मेसी(६–६) अगाडि छन्।
अब इंग्ल्यान्डले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप इतिहासमा पहिलो पटक नकआउट चराणमा पुगेको कंगोको यात्रा भने राउन्ड अफ ३२ बाटै सकिएको छ।