योरी टेलेमन्सले अतिरिक्त समयको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि बेल्जियमले विश्वकप २०२६ मा बिहीबार सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा निश्चित गरेको छ ।
बेल्जियमले दुई गोलले पछाडि रहेको स्थितिबाट यो उत्कृष्ट पुनरागमनको जित रचेको हो । अतिरिक्त समयको अन्त्यतिर ममुडो लामिनले टेलेमन्समाथि फल गरेपछि बेल्जियमले नाटकीय ढंगले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
त्यसअगाडि सेनेगलका लागि हबिब डिएराले २५ औं मिनेटमा गोलको खाता खोले । इस्माइल सारले उत्कृष्ट गोल गर्दै ५१ औं मिनेटमा टिमको अग्रता दोब्बर पारे । खेलमा केही मिनेट बाँकी रहेको बेला सेनेगल जिततर्फ अग्रसर देखिएको थियो । तर रोमेलु लुकाकुले ८६ औं मिनेटमा बेल्जियमका लागि पहिलो गोल गरे । त्यसपछि ८९ औं मिनेटमा योरी टेलेमन्सले बराबरी गोल फर्काए । अतिरिक्त समयको अन्त्यतिर पाएको पेनाल्टीमा बेल्जियमले नाटकीय जित दर्ज गर्यो ।
अब बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया एन्ड हर्ज गोभिनाबीच बिहीबार नै हुने खेलको विजेताको सामना गर्नेछ ।