काठमाडौँ — वैदेशिक रोजगार विभागले उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण नगर्ने भएको छ । त्यस्ता कम्पनीले आउँदो साउन १ देखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन् ।
विभागले वर्षौंदेखि थाती राखेको उजुरीलाई अन्तिम किनारा लगाउन उजुरी फर्छ्यौट गर्न म्यानपावरको नवीकरण नगर्ने नीति लिएको हो । ‘विभागले मुद्दा तथा अनुसन्धान कामलाई छिटोभन्दा छिटो टुंग्याउन खोजेको हो,’ विभागकी महानिर्देशक मीरा आचार्यले भनिन्, ‘अहिले नवीकरण गर्ने बेला छ । त्यो नवीकरण गर्ने बेलामा उजुरी फरफरक भएन भने नवीकरण हुँदैन ।’
विभागले यसबारे म्यानपावर व्यवसायीलाई जानकारी दिइसकेको छ । विभागमा २०५७ सालदेखिका उजुरी थाती छन् । त्यस्तो उजुरी संस्थागत र व्यक्तिगत झन्डै ४४ हजार वटा छन् । सबैभन्दा बढी व्यक्ति छ ।
म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ । ठगीमा परेका श्रमिकले व्यक्तिविरुद्ध उजुरी गर्ने गरेका छन् ।
विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीलाई फर्छ्यौट गर्नु हो । मेलमिलापबाट फर्छ्यौट गर्न नसकेमा विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा पेस गर्ने गरेको छ ।
कुन कम्पनीविरुद्ध कतिवटा उजुरी परेको छ भन्ने विवरणलाई व्यवस्थापन गर्न लागिएको विभागको भनाइ छ । ‘हामीले २०८० सालभन्दा अगाडि र त्यसपछिका उजुरी भनेर दुई भागमा विभाजन गरेका छौं । त्यसरी विभाजन गरिसकेर सार्वजनिक सूचनामार्फत सम्बोधन गर्ने गरी काम गरिरहेका छौं,’ आचार्यले भनिन्, ‘उजुरीमा प्रमाण संकलन गर्ने काम भइरहेको छ । यसलाई कडाइका साथ कार्यान्वयन भइरहेको छ ।’
विभागमा तोकिएभन्दा बढी रकम लिएको, करारमा उल्लेख गरेविपरीत काम लगाएको, तलब नपाएको र फरक काम परेको लगायतका विषयमा उजुरी परेका छन् । विभागले प्रमाण पुगेको उजुरीको हकमा म्यानपावर कम्पनीले राखेको धरौटीबाट रकम काटेर पीडितलाई दिने गरेको छ । विभागमा म्यानपावर कम्पनीको दुई करोडदेखि ६ करोड रुपैयाँसम्म नगद र बैंक धरौटी रहेको छ ।