भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ । ७ असार २०७९ मा घोषणा गरिएको रास्वपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका हुन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राखेका थिए । प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापतिसँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए । रास्वपा सभापतिका लागि १ प्रस्तावक र ५१ समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो ।
सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले बताए । ‘चुनावअघिको समायोजन प्रक्रियाबाट विभिन्न राजनीतिक समूहलाई रास्वपामा लिएर आएका थियौं । यो ऐतिहासिक महाधिवेशनले सबैलाई एउटा पार्टीभित्र एकीकृत गरेर लाने वातावरण सिर्जना भएको छ,’ उनले भने, ‘रवि लामिछाने पार्टी सभापति निर्विरोध हुनुभएको छ । उहाँले सुरु गरेको यात्रामा हामी सबै अटाएका छौं भन्ने सबैलाई परेको छ ।’ शाहले सभापतिमा लामिछानेलाई प्रस्ताव गरेपछि महाधिवेशनको बन्दसत्र स्थलबाहिर बार्दलीमा आएर दुवैले हात हल्लाएका थिए ।
प्रतिनिधि छनोटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्दसत्र मंगलबार मात्रै सुरु भएको थियो । मंगलबार दिउँसो ३ः१५ बजे मात्रै बन्दसत्र सुरु भएको थियो । बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव र महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए । यस्तै सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरे । अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले पेस गरे ।
बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । पार्टी सभापति पदको मनोनयन फाराम वितरण र दर्ताका लागि साँझ ७ देखि ७ः३० बजेसम्मको समय तोकिएको थियो । निर्वाचनबाट आउने ९९ केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । केन्द्रीय सदस्य पदको फाराम वितरण तथा दर्ता मंगलबार राति साढे ७ देखि साढे ९ सम्म तोकिएको थियो ।