काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने निर्वाचित भएकी छन्।
उनी १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ।
दोस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी न्यौपानेले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालाई मतान्तरले पछि पारेकी हुन्। थापाले ६ हजार ३६४ मत ल्याए।
यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत ल्याए।
न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन्। विवेकशील अभियानमार्फत् राजनीतिमा पाइला राखेकी न्यौपानेले २०७४ सालको स्थानीय तह निर्वाचनमा २३ हजार बढी मत ल्याएकी थिइन्।