विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति बनाइयो, स्वामित्व लिन नेतृत्वलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले उपसमिति गठन गरेको छ । उनीहरूले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति बनाउँदै संयोजक तोकेका हुन् । पार्टी संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् ।  आज पत्रकार सम्मेलनमार्फत् उनीहरूले विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्वलाई आग्रह गरे ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर जारी गरेको वक्तव्यमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बुझाएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै गरेको छैन। विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन ।’

०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने भन्दै विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नभएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो रहर वा छनोटको विषय होइन,विधानको बाध्यकारी प्रावधान हो। विधानको यो व्यवस्थालाई कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो ।’

पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको भन्दै यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्ने उल्लेख गरेका छन् ।

‘अतः हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ र आयोजनाको स्वामित्व लिनेछ । विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो । वर्तमान संवेदनशील घडीमा पार्टी विधानको सर्वोच्चतालाई अक्षुण्ण राख्दै नेपाली कांग्रेसको आन्तरिक एकतालाई थप सुदृढ बनाउन यो महाधिवेशन कोसेढुंगा साबित हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं’, विज्ञप्तिमा भनिएको छ ।

ताजा समाचार