काठमान्डौ
प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषदमा चार जना थपिने भएका छन्।
प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन्। शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम छ।
आज शपथ लिन लागेकामा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
यो विस्तारसँगै मन्त्रिपरिषद १४ सदस्यीय पुग्ने छ।
भूमि मन्त्रालय सम्हाल्न लागेका कुमार इङ्नाम ‘काठमाडौं स्कुल अफ ल’ का प्राध्यापक हुन्। अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ इङ्नामले थुप्रै किताब लेखेका छन्। काठमाडौं स्कुल अफ लमा आबद्ध हुनुअघि उनी इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढाउँथे।
श्रम मन्त्रालको जिम्मेवारी सम्हाल्न लागेका राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का संस्थापक प्रमुख थिए।
त्यस्तै, जनस्वास्थ्य विज्ञ माधव चौलागाईंले कर्णाली क्षेत्रमाथि गहन अनुसन्धान गरेका छन्। उनले कर्णालीकै विषयमा लेखेको ‘सपादलक्ष कर्णाली’ किताब प्रकाशित छ भने उनले लेखेको ‘मान्ठ हुँ म मान्ठ’ गीत पछिल्लो समय निकै चर्चामा आएको थियो।
श्रद्धा श्रेष्ठ भने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक हुन्। उनी पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुख थिइन्।