आइतबारसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ ३३ दल दर्ता 

काठमाडौँ — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ३३ दल दर्ता भएका छन् । आयोगका अनुसार, आइतबार ४ बजेसम्म उक्त संख्यामा दलहरु दर्ता भएका हुन् ।

यसअघि आयोगले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको थियो । आयोगले सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार मंसिर २१ गते बिहान १० देखि २३ गते अपराह्न ४ बजेसम्म उक्त प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको छ ।

आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम थालेको थियो । यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ ।

ताजा समाचार