काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले केही दिनयता काठमाडौंका मेयर बालेन्द्र साहलाई लगातार तारो बनाइरहेका छन् । एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरेपछि बालेनले पनि जवाफ फर्काए, तर पत्थरको जवाफ फूलले दिएको शैलीमा ।
‘डियर हर्क साम्पाङ’ सम्वोधन गर्दै बालेनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’
पछिल्ला केही दिनयता धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह लक्षित स्टाटसहरू लगालग लेखिरहेका थिए । यति मात्रै होइन, काठमाडौंबाट धरान फिरेपछि आज भएको पत्रकार भेटघाटमा पनि उनको अभिव्यक्ति बालेन्द्र लक्षित थियो । उनले अपुष्ट आरोप लगाउँदै बोलेका थिए, ‘यो सरकार गठनमा एकजना गेमर छ । त्यही गेमरले जेनजी आन्दोलनमा भएको सम्पूर्ण क्षति र हत्याको जिम्मा लिनुपर्छ ।’
हिजो मात्रै हर्कले एउटा स्टाटस लेखे, ‘चानचुने नठान्, सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा । हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु । तँ हारिस् भने मेरो घरमा सिर्फ एक महिना हली बस् । सक्छस् ?’
यस स्टाटसको कमेन्टमा हर्कका समर्थकहरूले आक्रामक नहुन सुझाव दिइरहेका छन् । आवेगमा नआउन र सम्हालिन सुझाव दिएका छन् । तर, हर्क यतिमै रोकिँदैनन्, दुई घण्टाको अन्तरालमा फेरि अर्को स्टाटस लेख्छन्, ‘को हो त्यो भित्र बसेर खेल्ने ? बरु बाहिरै आएर भिड्न रेडी बन् !’
आज बिहान पनि उनले अर्को स्टाटस बालेन्द्र लक्षित लेखे, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ । लिडर भनिँदैन ।’
आफूलाई प्रधानमन्त्री बन्नलाई बालेन्द्रले सहयोग नगरेको आँकलन छ हर्कको । उनी प्रधानमन्त्री बन्न भनेर धरानबाट काठमाडौं आएका थिए । तर, उनी प्रधानन्त्री बन्न सकेनन् । बालेन्द्रले हर्कको नाम उल्लेख खगरी हर्कलाई सम्झाएका समेत थिए । हर्कले केही युट्युबरहरुलाई आफू र काठमाडौं महानगरपालिकाको मेयरले प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई स्वीकार नगरेको बताएका थिए ।
पछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले स्टाटस लेखेरै हर्कलाई सम्झाउनुपर्यो । बालेन्द्रले स्टाटसमा हर्कको नाम उल्लेख नगरी लेखेका थिए, ‘अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने-तपाईंहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।’
यसपछि बालेन्द्रपति उग्र बनेका हर्कले लगातार बालेन्द्र लक्षित प्रहार गरिरहेका थिए । आज आएर बालेन्द्रले आफूलाई जति प्रहार गरे पनि माया गर्न नछाड्ने भन्दै स्टाटस लेखेका हुन् ।