हेटौँडा । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले मुख्यमन्त्री र सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।
जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले पार्टी प्रदेश सरकारबाट फिर्ता हुने निर्णयमा पुगेको भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरेका छन् । उनले सरकारलाई दिइएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी सहितको पत्र प्रदेश प्रमुख कहाँ पठाएका हुन् ।
यसअघि दिउँसो मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अहिलेको भाँडभैलोमा फेरि सरकार बनाउने र गिराउने खेल हुने भएकाले कुनै ठोस निकास नभएसम्म काम गर्नु पर्ने भएकाले राजीनामा नदिने बताएका थिए । उनले नेपालप्रेससँग भनेका थिए, ‘संसद विघटनसँगै प्रदेश सरकार पनि विघटन भएको छैन, केही सम्बोधन भएन, मैले राजीनामा दिँदा फेरि सरकार बनाउने र भत्काउने खेल हुन्छ, मधेश बनाउनु पर्ने मात्रै होइन, एउटा पनि मन्त्रालयको भवनमा बसेर काम गर्न सक्ने अवस्था नभएकाले पहिलो सरकार चलाउने भवन बनाउनु पर्ने चुनौती छ, म काम गर्न चाहन्छु ।’
उनले आफ्नो फेसबुक पेजमा पनि लामो सन्देश लेख्दै भनेका छन्, ‘जनताको ज्यानभन्दा ठुलो पद होइन, राजीनामाले जनताको जीवन रक्षा र सम्पत्तिको क्षति रोक्न मदत पुग्छ भने सचिवालयमार्फत सामाजिक सञ्जालमा गरिएको राजीनामाको जानकारी सत्य हो नत्र संविधान र सङ्घीयताको रक्षार्थ म हरेक बाटो रोज्न तयार छु, तर सङ्घीयताको आत्मा मधेशलाई नेतृत्वविहीन बनाई अरूको खेल मैदान बनाउन दिने कुनैपनि प्रयास स्वीकार्य हुने छैन ।’