दुबईबाट आएका थिए नेपालमा समातिएका भनिएका ‘दाउदका एजेन्ट’

काठमाडौं । भारतीय सञ्चारमाध्यममा केही दिनयता ‘नेपालमा अन्डरवर्ल्ड डन दाउद इब्राहिमका एजेन्ट पक्राउ परेको’ विषयले चर्चा पाइरहेको छ । कतिपयले नेपालबाट भारतमा हतियार पठाउने शेख सलिम उर्फ सलिम पिस्टललाई समातिएको लेखेका छन् ।

नेपाल–भारतबीच खुला सीमा रहेका कारण अभियुक्तहरु एकअर्काको देशमा लुक्ने गरेका छन् । त्यस्तोमा उनलाई समेत नेपालमा रहेर भारतविरुद्ध सक्रिय अपराधीका रुपमा कतिपयले व्याख्या गरेका छन् ।

तर, अनलाइनखबरसँग सम्पर्कमा आएका दिल्ली पुलिसका एक अधिकारीले उनको बेस नेपाल नभएको बताए । ‘उनी पञ्जाबका गायक सिद्धु मुसेवाला र पूर्वकंग्रेस नेता बाबा सिद्धिकीको हत्या सम्बन्धी अनुसन्धानका क्रममा प्रहरीको र्‍याडरमा आएका थिए,’ ती अधिकारीले भने, ‘उनी सन् २०१८ मा पक्राउ परेका थिए, तर फेरि भागेर भारतभन्दा बाहिर पुगेका थिए ।’

उनी फरार भएपछि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत रेड नोटिस जारी भएको ती अधिकृतले बताए ।

‘त्यसपछि उनको दूबईको अड्डा पत्ता लागेको थियो, लामो निगरानी पश्चात नेपाल आएका बेला पक्राउ परे,’ ती अधिकृतले भने, ‘उनलाई गिरफ्तार गर्न दिल्ली पुलिसको स्पेशल सेल, भारतीय सुरक्षा निकाय र नेपाल प्रहरीका अधिकारीहरुले संयुक्त अपरेशन चलाएका थिए ।’

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे भने भारतीय सञ्चारमाध्यममा समाचार आएपछि मात्र आफूले यो विषयमा थाहा पाएको बताउँछन् । उनी भन्छन्, ‘दूबईबाट आएको भन्ने विषयमा समेत जानकारी भएन ।’

तर, अनलाइनखबरलाई प्राप्त दिल्ली पुलिस अन्तरगतको स्पेशल सेलको प्रेस नोटमा समेत यो संयुक्त अपरेशनमा नेपाल प्रहरीसँग समेत समन्वय भएको उल्लेख छ ।

पञ्जाबको मानसा जिल्लाको जवाहर्के गाउँमा १५ जेठ २०७९ मा अज्ञात समूहको गोली प्रहारबाट सिद्धु मुसेवाला मारिएका थिए ।

बाबा सिद्धिकी चाहिँ २०८१ असोजको अन्तिम साता मुम्बईको बान्द्रा इस्टमा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए । ४८ वर्षदेखि कांग्रेसमा आबद्ध उनी एनसीपीमा प्रवेश गरेको केही सातामा हत्या भएको थियो ।

सलिम पिस्टल: दाउददेखि लरेन्शसम्मका हतियार व्यवस्थापक

दिल्ली प्रहरीको स्पेशल सेलका अधिकारीहरुका अनुसार, सलिम पिस्तल कुनै बेला ट्याक्सी चलाएर गुजारा चलाउँथे । ८ कक्षा पढ्दापढ्दै स्कुल छाडेका उनी पछि चोरी हुँदै ठूला तस्करीसहित अन्य अपराधमा जोडिन थालेका थिए ।

प्रहरीको रेकर्डअनुसार, सन् २००० मा उनले मुकेश गुप्ता उर्फ काका नामक साथीसँग मिलेर गाडीहरु चोरी गर्न थालेका थिए । ७ अप्रिल २००० मा उनले दिल्लीको व्यस्त चाँदनी चोक बजारबाट मारुती भ्यान चोरेको भन्दै प्रहरीमा एफआईआर दर्ता भएको थियो ।

त्यसपछि विभिन्न साना–ठूला अपराधमा संलग्न हुँदै उनले भारत र पाकिस्तानमा सञ्जाल विस्तार गरेको दिल्ली प्रहरीका अधिकारीहरुको दाबी छ । सन् २०११ मा उनी जाफरावादको एक घरमा डकैती गरेको आरोपमा पक्राउ परेका थिए । हतियार देखाएर २० लाख रुपैयाँ लुटेको आरोपमा उनी १८ डिसेम्बर २०१३ मा पक्राउ परेका थिए ।

त्यसयता प्रहरीको नजरमा उनी भारतका एक शीर्ष हतियार तस्करमध्येमा दर्ज भएका थिए । उनले पाकिस्तानबाट अवैध रुपमा अत्याधुनिक हतियार भित्र्याउने गरेको भारतीय सुरक्षा अधिकृतहरुको आरोप छ ।

प्रहरीको दाबीमा, उनको सम्बन्ध कराँचीमा रहँदै आएका भनिएका दाउद इब्राहिमसँगै पाकिस्तानको खुफिया निकाय इन्टरसर्भिस इन्टलिजेन्स (आईएसआई) सँग समेत छ ।

ताजा समाचार