बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालय परिसरमाबुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएको छ । १३ साउन मंगलबार आफू विरूद्ध संसदीय दलमा परेकाे अविश्वासको प्रस्तावकाे विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासकाे प्रस्तावकाे पक्षमा २२ मत परेको थियो ।

लामाले दलको नेताको हैसियत गुमाएपछि आज बुधवार दलकाे नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँकाे नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासकाे प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।

बानियाँ र लामा संसदीय दलकाे नेतामा दाेस्राे पटक भिडेका हुन् । प्रदेश सभाकाे दाेस्राे कार्यकालमा पहिलाे पटक १३ पुस २०७९ मा संसदीय दलकाे निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।

लामा र बानियाँ दाेस्राे पटक दलकाे नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएकाे प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाकाे ठूलाे दल नेपाली कांग्रेस संसदीय दलकाे नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

ताजा समाचार